गैरआवासीय नेपाली संघ (एनआरएनए) का मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठले श्रम तथा रोजगार मन्त्री रामजी यादवसँग शिष्टाचार भेटघाट गरेका छन्।
आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारको राजधानी दोहामा आयोजना हुन लागेको एनआरएनएको नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी तथा समन्वयका विषयमा छलफल गर्न श्रेष्ठले मन्त्री यादवसँग भेट गरेका हुन्।
भेटका क्रममा संयोजक श्रेष्ठले सम्मेलनमा सहभागी हुन मन्त्री यादवलाई आग्रह गरेका छन्। सम्मेलनमा मन्त्रीको गरिमामय उपस्थितिका लागि केही दिनअघि नै औपचारिक निमन्त्रणापत्र पठाइसकिएको र त्यसैलाई निरन्तरता दिँदै पुनः भेट गरी सहभागिताका लागि अनुरोध गरिएको श्रेष्ठले जानकारी दिएका छन्।

सो अवसरमा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिक तथा नेपाली समुदायले भोगिरहेका विभिन्न समस्या, चुनौती र गुनासाका विषयमा समेत छलफल भएको बताइएको छ।
मध्यपूर्वका विभिन्न मुलुकमा लाखौँ नेपाली श्रमिक तथा अन्य नेपाली समुदायको उपस्थिति रहेको उल्लेख गर्दै उनीहरूको हकहित, सुरक्षा, सम्मान र अधिकार संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने विषयमा जोड दिइएको थियो। यसका लागि नेपाल सरकार तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको विषय पनि उठाइएको छ।
संयोजक श्रेष्ठले मध्यपूर्वमा रहेका नेपालीहरूको समस्या समाधानका लागि सरकार तथा सम्बन्धित निकायसँग निरन्तर संवाद र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
दोहामा आयोजना हुने नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनले वैदेशिक रोजगारीका चुनौती, श्रमिकका अधिकार, सुरक्षा तथा मध्यपूर्वमा रहेका नेपाली समुदायका साझा सरोकारका विषयलाई राष्ट्रिय स्तरमा उठाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।