समाज

अब जनकपुर-अयोध्या रेल

नेपाल र भारतका दुई प्रमुख धार्मिक स्थललाई जोड्न जनकपुरदेखि अयोध्यासम्म रेल सेवा सञ्चालन हुने भएको छ। भारतीय रेल्वे विभागले जनकपुरधामलाई भारतको अयोध्यासँग जोड्ने साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ।

सीताको जन्मस्थल जनकपुरधामदेखि रामको जन्मस्थल अयोध्यालाई जोड्ने गरी रेल सेवा सञ्चालन गर्ने प्रक्रिया अघि बढेको रेल विभागका महानिर्देशक हरिकुमार पोखरेलले बताए। ‘एक वर्षदेखि तयारी थियो,’ पोखरेलले भने, ‘अब पूरा हुने भएको छ।’

नेपालका लागि महत्त्वपूर्ण उपलब्धि भएको पोखरेलले बताए। ‘धार्मिक पर्यटन र आर्थिक गतिविधि वृद्धि गर्न ठुलो टेवा पुग्छ,’ उनले भने।

विज्ञापन

करिब ६०४ किलोमिटर दुरी तय गर्ने यो साप्ताहिक रेल सेवाले जनकपुरधामलाई अयोध्या क्यान्ट रेल्वे स्टेसनसँग जोड्नेछ। रेल सेवा नेपालतर्फ करिब २९ किलोमिटर पर्छ।

भारतको रेल मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशित गरी भारत–नेपाल कनेक्टिभिटीलाई मजबुत बनाउन भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबिच नयाँ साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको जानकारी दिएको छ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका नेपाली समकक्षी बालेन्द्र शाहले नोभेम्बर २३ मा नयाँ दिल्लीबाट भर्चुअल माध्यममार्फत अयोध्याधाम–जनकपुरधाम रेल सेवाको संयुक्त रूपमा उद्घाटन गर्ने तयारी छ।

उद्घाटनको एक साताभित्र नियमित रेल सेवा सञ्चालनमा आउने अपेक्षा गरिएको छ। रेल्वेका अधिकारीहरूका अनुसार उक्त रेल सेवा परम्परागत लिंके होफम्यान बुस (एलएचबी) कोचहरूबाट सञ्चालन हुनेछ।

रेलमा वातानुकूलित (एसी) तथा स्लिपर डिब्बाहरू रहनेछन्। यसले दुई देशबिच आवतजावत गर्ने यात्रुहरूलाई सीमापार यात्राका लागि थप एउटा विकल्प उपलब्ध गराउनेछ।

उत्तर रेलवेअन्तर्गत लखनउ डिभिजनका एक अधिकारीले भने, ‘नोभेम्बर २३ मा उद्घाटन रेल अयोध्याधामबाट छुट्नेछ तर व्यावसायिक रूपमा सञ्चालन हुने रेलको प्रारम्भिक स्टेसन भने अयोध्या क्यान्ट हुनेछ।’

स्वीकृत रेलमार्गअनुसार उक्त रेलका व्यावसायिक स्टेसनहरू जयनगर, मधुबनी, सिसो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा हुनेछन्। यसबाहेक रेलका प्रारम्भिक तथा अन्तिम स्टेसनहरूमा पनि रेल रोकिनेछ। यो साप्ताहिक रेल सेवा शनिबार जनकपुरधामबाट र सोमबार अयोध्या क्यान्टबाट छुट्नेछ। रेलको विस्तृत समयतालिका र भाडादर भने छुट्टै सार्वजनिक गरिने जनाइएको छ।

रामायण परम्परासँग गहिरो सम्बन्ध रहेका दुई धार्मिक स्थललाई रेलमार्गबाट जोड्ने यो पहललाई भारत–नेपाल सीमापार यातायात तथा धार्मिक पर्यटनका दृष्टिले महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

जनकपुरधामलाई माता सीताको जन्मस्थल र अयोध्यालाई भगवान् श्रीरामको जन्मभूमिका रूपमा मानिन्छ। रेल सेवा सञ्चालनमा आएपछि दुवै देशका तीर्थयात्री तथा पर्यटकलाई धार्मिक यात्रा गर्न सहज हुनेछ।

यस रेल सेवाले धार्मिक पर्यटनमा मात्रै नभई स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। जनकपुरधाम र अयोध्याबिच तीर्थयात्रीको आवागमन बढ्दा होटल, यातायात, पर्यटन व्यवसाय, स्थानीय व्यापार तथा हस्तकलासँग सम्बन्धित व्यवसायले लाभ लिन सक्नेछन्।

विशेषगरी रामायण सर्किटसँग जोडिएका धार्मिक तथा सांस्कृतिक गन्तव्यको प्रवद्र्धनमा यसले महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ।

सीमावर्ती क्षेत्रका नागरिकबिच सामाजिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्न पनि रेल सेवा उपयोगी हुने अपेक्षा छ। नेपाल र भारतबिचको सम्बन्ध साझा धार्मिक आस्था, संस्कृति, इतिहास र जनस्तरको आत्मीयतामा आधारित छ।

नेपालतर्फ करिब २९ किलोमिटर रेलमार्ग सञ्चालनमा छ। हाल जयनगरदेखि महोत्तरीको भंगाहासम्म नियमित रेल सेवा सञ्चालन भइरहेको छ। जनकपुरधामबाट दैनिक तीन पटक रेल आवतजावत हुने गरेको छ।

रेल विभागका महानिर्देशक हरिकुमार पोखरेलका अनुसार यात्रुको माग बढ्दै गए सातामा दुईपटकसम्म रेल सेवा सञ्चालन गर्न सकिने सम्भावना पनि छ। उनका अनुसार नेपालतर्फ रेल सञ्जाल विस्तारको कामसमेत अघि बढिरहेको छ। भंगाहादेखि बर्दिबाससम्मको रेलमार्ग निर्माणका लागि तयारी भइरहेको छ भने करिब १७ किलोमिटर खण्डको काम अघि बढाउने काम भइरहेको छ। दीर्घकालीन रूपमा रेलमार्गलाई निजगढसम्म विस्तार गर्ने योजनासमेत छ।

नेपालमा रेलमार्ग निर्माण र सञ्चालनको चर्चा दशकौंदेखि हुँदै आए पनि देशको रेल यातायात अझै प्रारम्भिक अवस्थामै सीमित छ। पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, काठमाडौं–रक्सौल रेलमार्ग र केरुङ–काठमाडौं रेलमार्गजस्ता महत्त्वाकांक्षी आयोजना अघि बढाउने सरकारी प्रतिबद्धता रहे कुनै आयोजनाले गति लिएको छैन। हाल जनकपुर–जयनगर रेलमार्ग नेपालको प्रमुख यात्रुवाहक रेल सेवा हो।

भारतको जयनगरदेखि धनुषाको जनकपुरधाम हुँदै महोत्तरीको भंगहासम्म करिब ५२ किलोमिटर रेलमार्ग सञ्चालनमा छ। यस रेलमार्गको जयनगर–कुर्था खण्ड २०२२ अप्रिलमा र कुर्था–भंगहा खण्ड २०२३ जुलाईमा सञ्चालनमा आएको थियो। यस रेलमार्गमा दैनिक यात्रुवाहक रेल सेवा सञ्चालन हुँदै आएको छ तर भंगहादेखि बर्दिबाससम्मको बाँकी खण्ड निर्माण सम्पन्न हुन सकेको छैन। जग्गा अधिग्रहण र मुआब्जा वितरणको समस्याले ढिलाइ भएको छ।

नेपालको पूर्वी सीमा काँकडभिट्टादेखि पश्चिमको गड्डाचौकीसम्म रेलमार्ग विस्तार गर्ने लक्ष्यसहित पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजना अघि सारिए पनि गति लिन सकेको छैन।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।