पुस २५, काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत दुबई गएका ११८ नेपाली युवा अलपत्र परेका छन् । पटक–पटक गरेर चाररपाँच महिनाअघि मनग्य तलबसहित आकर्षक जागिर पाउने आशामा भिजिट भिसामा दुबई पुगेका युवा अलपत्र परेका हुन्।
यसरी गएकामध्ये ४ दर्जनभन्दा बढी युवा नेपाली सेनाको जागिर छाडेर गएका हुन् भने कोही सेनाकै अवकाश प्राप्त छन् । आफूलाई भिजिट भिसामा दुबई लगर काम लगाउँछु भन्दै बिचल्ली बनाउने टिमका मुख्य नाइके कोमलराज उपाध्याय रहेको पीडितको भनाइ छ । उपाध्याय त्रिनेत्र कन्सल्टेन्सीका मालिक हुन्।
उनको मुख्य संलग्नतामा अन्य दलालहरु खगेन्द्र लम्साल, राजन ठकुरी, भुपेन्द्र बोहोरा, आदित्य रसाइली, होम बहादुर खड्का, सिम्रन रसाईलीले दुबईको विभिन्न कम्पनीमा कामदार माग गरिएको भन्दै नक्कली मागपत्र बनाई युवाहरुलाई झुक्याएर दुबई लगेका थिए।
दुबईस्थित अलफैदीमा कार्यालय रहेको त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका मालिक उपाध्यायसहितको टिमले प्रतिव्यक्ति १ लाख ७० हजार देखि ८ लाख रुपैयाँसम्म असुल गर्ने गरी यी युवालाई भिजिट भिसामा दुबई पु¥याएका हुन्।
केही पीडित युवाले कुल लाग्ने रकमको आधा अर्थात् करिव ४ लाख रुपैयाँ नेपालमा तिरेको र बाँकी रकम अफर लेटर आएपछि तिर्ने सहमतिमा दुबई आएको बताए । उनीहरुले त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका मालिक कोमलराज उपाध्यायको श्रीमती रन्जना ढकाल प्याकुरेलको नाममा रहेको प्रभु बैंकको खातामा नेपालमै रकम जम्मा गरेका थिए । दुबई आएको लामो समय भए पनि पीडित युवाहरु र दलालबीच सहमति भए अनुसारको काम नभएपछि मात्र उक्त समस्या बाहिर आएको हो।
केही समय अघि नेपाली सेनामा काम गरेका नेपालीलाई मात्रै दुबईमा आर्म्स गार्डका लागि जागिर खुलेको भन्दै त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीले प्रचार गरेको थियो। प्रतिव्यक्ति ३ हजार दिर्हाम अर्थात् करिब (१ लाख रुपैयाँ) तलबसहित खान र बस्न फ्रिसहित राम्रो सुविधा हुने आश्वासनमा उनीहरु भिजिट भिसामा दुबई पुगेका हुन।
यता नेपाली दूतावास आबुधावीले उक्त घटनालाई निकै गम्भीरतापूर्वक हेरिएको बताएको छ। दूतावासकी श्रम काउन्सिलर निर्मला थापाका अनुसार उक्त घटनाबारे श्रम मन्त्रालयका उच्च पदाधिकारीले दूतावासमा सम्पर्क गरेकाले पीडितहरुसँग पनि सम्पर्क भइरहेको छ।