मंसिर २१, काठमाडौं । बेलायतमा नेपाली नर्सलाई रोजगारीको अवसर दिनेबारे दुई देशबीच औपचारिक सम्वाद अघि बढेको छ । बेलायत सरकारले औपचारिक पत्र काटेरै नेपाली नर्सलाई आफ्नो ‘नेसनल हेल्थ प्रोग्राम’अन्तरगत अवसर दिन चाहेको बताएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक कार्यदल नै बनाएर वार्ता अघि बढाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेका अनुसार बेलायतले विभिन्न देशमा गरेर एक लाख नर्स लैजान खाजेको बुझिएको छ । तर, नेपालबाट कति नर्स, कहिलेसम्म, कुन मापदण्ड, विधि, प्रक्रियाबाट लैजान चाहेको हो भन्ने स्पष्ट नभएको उनले बताए । यसबारे वार्ता गर्न मन्त्रालयकी सहसचिव विनु बज्राचार्यको संयोजकत्वमा बनेको समितिले छलफल अघि बढाएको घिमिरेले जानकारी दिए ।
अनौपचारिक रुपमा बेलायत सरकारले नेपालबाट १० हजार जना नर्सलाई रोजगारी दिनसक्ने बताएको मन्त्रालयबाट हालै सरुवा भएका सचिव सूर्यप्रसाद गौतमले सार्वजनिक कार्यक्रमहरुमै बताउँदै आएका छन् । बेलायतले फिलिपिन्स, भारत र नेपालबाट नर्सिङ क्षेत्रका श्रमिक लैजान चाहेको बुझिएको छ ।
सरकारीस्तरमै सम्झौता गरेर नर्स लैजान चाहेकाले सरकारीस्तरमा (जीटुजी) समझदारी गर्न अहिले दुवै देशका श्रम अधिकारीहरू नियमित वार्तामा जुटेका छन् । छनोट भएर जाने नर्सले वार्षिक ४८ हजार पाउन्ड स्टर्लिङ (मासिक ४ हजार पाउन्ड) अर्थात् करीब ७५ लाख रुपैयाँसम्म तलब पाउने जानकारी बेलायतले दिएको मन्त्रालयका प्रवक्ता घिमिरेले बताए ।
नर्सलाई अवसर दिनेबारे छलफल थालेपछि मन्त्रालयले नेपाली बजारमा उपलब्ध नर्सबारे पनि नर्सिङ काउन्सिलबाट जानकारी पनि लिएको छ । जसअनुसार नर्सिङ काउन्सिलमा ६६ हजार नर्स दर्ता छन् । त्यसमध्ये २४ हजार जना रोजगारी र पढाइका सिलसिलामा देश बाहिर छन् ।
८ हजार नर्स भने विभिन्न सरकारी स्वास्थ्य संस्थामा सेवारत छन् । बजारमा उपल्बध करीब ३३ हजारमध्ये कति नर्स निजी स्वास्थ्य संस्थामा रहेर काम गरिरहेका छन् भन्ने यकिन तथ्यांक छैन ।
नेपालले सरकारी तवरबाटै नर्सलाई ‘केयर गिभर’का रुपमा इजरायलमा पठाइरहेको छ । यस्तै व्यक्तिगत तवरमा श्रम इजाजत लिएर नर्सिङकै लागि विभिन्न देश जानेको संख्या पनि ठूलो छ ।