मंसिर ५, काठमाडौँ । कोरियन भाषा परीक्षा पास गरेका प्रशिक्षार्थी करिब दुई वर्षपछि कोरिया जाने पाउने भएका छन् । सन् २०१८ र २०१९ मा भाषा पास परीक्षा उतीर्ण गरेका प्रशिक्षार्थीहरू कोरिया जान पाउने भएका हुन् ।
आगामी मङ्सिर २७ गते भाषा परीक्षा उत्तीर्णगरी बसेका प्रशिक्षार्थीहरू जान लागेको ईपीएस कोरिया शाखाले जनाएको छ । शाखाकाअनुसार कोभिड-१९ को महामारीका कारणले नियमितरूपमा जान पाउने कामदार जान पाएका थिएनन् ।
विभागका निर्देशक सुरेश राउतकाअनुसार १ सय ५० जना कामदार जान लागेका हुन् । 'भाषा पास गरेका १ सय र कमिटेड कामदार ५० जना रहेका छन्,' उनले भने ।कोरियाले उद्योग र कृषि क्षेत्रमा नेपाली कामदार लैजाने गरेको छ । सबैभन्दा बढी कामदार उद्योग क्षेत्रमा रहेका छन् ।
लामोसमयसम्म भाषा परीक्षा पास गरे पनि उनीहरू कोरिया जान पाएका थिएनन् । कात्तिक १० गते कमिटेड कामदार गएका थिए । पछिल्लो समय कोरिया जाने कामदारहरूले आफ्नो खर्चमा क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था लागू भएको छ ।
नियमित कामदारले पनि दश दिन क्वारेन्टाइन बस्नुपर्ने छ । यसअघि गएका कमिटेड कामदारलेसमेत क्वारेन्टाइन बस्नुपरेको थियो । कोभिडविरुद्धको खोप मात्रा पूरा गरेकाले कोठा सेयर गरेर बस्न पाउने भएका छन् । यसअघि गएका कामदारले भने बेग्लाबेग्लै कोठामा बस्नुपर्ने थियो ।
सरकारले कोरिया भाषा परीक्षा पुसदेखि गर्ने भएको छ । कमिटेड कामदारलाई लैजान थालेपछि नियमित प्रक्रिया अगाडि बढाएको हो । भाषा परीक्षा नगरिएमा कोरियाबाट नेपालले पाउने कामदारको कोटा गुम्न सक्ने खतरा रहेको उनले बताए ।