काठमाडौं । चार वटा अस्पतालले चिकित्सा शिक्षाको पढाइ पनि गर्न पाउने भएका छन्।
चिकित्सा शिक्षा आयोगले यसै वर्षबाट विशिष्टीकृत कार्यक्रम सञ्चालन गर्न चार अस्पताललाई अनुमति दिएको छ। काठमाडौंको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्यूट न्यूरोलोजिकल एन्ड एलाइड साइन्सेस, भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भैंसीपाटीको नेपाल मेडिसिटी अस्पताल, धुम्बाराहीको हस्पिटल फर एड्भान्स मेडिसिन एन्ड सर्जरी (ह्याम्स) ले विशिष्टीकृत कार्यक्रम सञ्चालन गर्न अनुमति पाएका छन्।
चारै अस्पताललाई विभिन्न विषयमा अध्यापन गराउन सात सीट निर्धारण गरिएको छ। जसमा उपेन्द्र देवकोटा मेमोरियल, बीपी कोइराला मेमोरियल र मेडिसिटीले दुई–दुई सीट र ह्याम्सले एक सीट पाएका छन्।
विशिष्टीकृत कार्यक्रम अन्तर्गत न्यूरो सर्जरीका लागि दुई, सर्जिकल अंकोलोजी थोरासिक, सर्जिकल अंकोलोजी जेनिटो युरिनरी, जीआई सर्जरी र क्रिटिकल केयरका लागि एक–एक सीट निर्धारण गरिएको चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले जानकारी दिए।
अस्पतालमा विशिष्टीकृत कार्यक्रम सञ्चालन गर्दा एमबीबीएस तथा एमडीरएमएस गरेका विद्यार्थीले पनि अध्ययन गर्न पाउने र धेरै खर्च नगरी विशेषज्ञ चिकित्सक जसरी दक्षता हासिल गर्न सकिने उनको भनाइ छ। “यो कार्यक्रम सञ्चालन गरेपछि अस्पतालहरूमा दक्ष चिकित्सकको अभाव पनि पूर्ति हुन्छ,” उनले भने।
आयोगका अनुसार, ‘सब स्पेसियालिटिज पोस्ट ग्राजुयट’ कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य संस्थाले पहिलेदेखि नै एमबीबीएस तथा पोस्ट ग्राजुयट (एमडीरएमएस) को कार्यक्रम सञ्चालन गरिराखेको हुनुपर्ने तथा नेपाल मेडिकल काउन्सिलले तोके अनुसार विशिष्टीकृत कार्यक्रमका लागि आवश्यक पूर्वाधार हुनुपर्छ। सार्वजनिक शिक्षण संस्थान तथा ‘स्पेसियालिटी सेन्टर’ मा भने एमबीबीएस तथा एमडी र एमएसका कार्यक्रम सञ्चालन नभए पनि पुग्छ।
यससँगै अस्पतालमा टेक्निकल, मेडिकल तथा हेल्थ साइन्सको विशिष्टीकृत कार्यक्रमको ‘फ्याकल्टी’ हुनुपर्छ। त्यस्तै, बिरामीको राम्रो उपचार गर्ने, आवासीय चिकित्सकको तालीम तथा बिरामीको सुरक्षा सम्बन्धी विभिन्न प्रावधान पूरा गरेको हुनुपर्छ।
यो कार्यक्रम सञ्चालन गर्न अस्पतालसँग कम्तीमा तीन जना फ्याकल्टी सदस्य हुनुपर्छ। त्यस्तै, एक जना प्रोफेसर, एक एसोसिएट प्रोफेसर र एक जना असिस्टेन्ट प्रोफेसर वा लेक्चरर अनिवार्य गरिएको छ।