जर्मनीले नेपाललाई दियाे ४१ लाख मात्रा खाेप !

 कोरखबर   १ पौष, २०७८



पुस १, काठमाडौं ।  जर्मनीले नेपाललाई ४१ लाख मात्रा काेराेना भाइरसविरुद्धकाे खोप हस्तान्तरण गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज बिहीवार आयोजना भएको एक कार्यक्रममा नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत डा. स्टेफन रसेकले मन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गर्नुभएको हो ।

मन्त्री खतिवडालाई उहाँले कोभ्याक्स सुविधाअन्तर्गत ४१ लाख ४२ हजार २ सय ५० खोपको मात्रा हस्तान्तरण गर्नुभएको हो । तीमध्ये २१ लाख ७६ हजार ६ सय ५० मात्रा जोन्सन एन्ड जोन्सन र १९ लाख ६५ हजार ६ सय मात्रा मोडर्ना रहेका छन् । 

हस्तान्तरण समारोहमा मन्त्री खतिवडाले जर्मनीले उपलब्ध गराएको खोपले सरकारको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउनुभयो । मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्रले मोडर्ना खोप यही पुस ४ गतेदेखि १२ वर्षमाथिका बालबालिकालाई लगाइने बताउनुभयो । ५७ वटा जिल्लाका विद्यालयमार्फत यो खोप बालबालिकालाई लगाइने उहाँले बताउनुभयो । 

यसैबीच नेपालमा आजसम्म कुल जनसङ्ख्याको ३१ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै ३८ दशमलव २ प्रतिशतले पहिलो मात्रा कोभिडविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । लक्षित जनसङ्ख्याको पहिलो मात्रा खोप ५८ दशमलव २ प्रतिशत र पूर्ण मात्रा खोप ४७ दशमलव २ प्रतिशतले लगाएका छन् ।

सरकारले कोभिडविरुद्धको खोपलाई निरन्तरता दिँदै आएको छ । खोप लगाउने कार्यमा सबैको साथ र सहयोग रहेको मन्त्रालयले जनाएको छ । सरकारले समयमा नागरिकलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउँदै आएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post