मंसिर २२, काठमाडौं। भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावत चढेको हेलिकप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको छ । दुर्घटनास्थलबाट तीन जनाको उद्धार गरिएको छ । जनरल रावतको अवस्था अझैसम्म अज्ञात छ । जनरल रावत हेलिकप्टरमा पत्नी र परिवारका अन्य सदस्यको साथमा थिए । केलिकप्टरमा सेनाका अन्य अधिकारी पनि भएको बताइएको छ ।
समाचार एजेन्सी एएनआइले दुर्घटनास्थलको भिडियो सार्वजनिक गरेको छ । भिडियोमा दुर्घटनाग्रस्त हेलिकप्टरमा पूरै आगो लागेको र उद्धारकर्मीहरुले आगो निभाइरहेको देख्न सकिन्छ । दुर्घटनाग्रस्त हेलिकप्टर पूरै क्षत विक्षत भएको छ । खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ । पछिल्लो जानकारीअनुसार ३ जना गम्भीर रुपमा घाइते छन् । अरुको उद्धार कार्य जारी छ । समाचार एजेन्सी एएनआइका अनुसार दुर्घटनास्थलमा जलेका शव भेटिएका छन् । शव ८० प्रतिशतसम्म जलिसकेकाले पहिचान गर्न सकिएको छैन ।
घाइतेहरुलाई वेलिंग्टन बेसमा उपचारको लागि लगिएको छ । जानकारीअनुसार रावत वेलिंग्टनमै एक कार्यक्रममा सहभागी हुन पत्नीको साथमा जाँदै थिए । वेलिंग्टनमा सशस्त्र बलको कलेज छ । यहाँ सीडीएस रावतले प्रशिक्षण दिने कार्यक्रम थियो । कुन्नुरको घना जंगलमा दुर्घटना भएको छ । सेनाले यस विषयमा कुनै बयान जारी गरेको छैन ।
दुर्घटना भएको क्षेत्रमा निकै घना जंगल छ । यहाँ चारैतिर रुखहरु मात्रै छन् । दुर्घटना निकै भयानक भएको र चारैतिर आगोको मुस्लो देखिएको थियो । सेना र वायुसेनाको टुकडी उद्धरको लागि पुलिसको साथमा गएका छन् । आसपासका इलाकामा पनि खोजी अभियान चलाइएको छ । यो हेलिकप्टर एमआइ सिरिजको थियो । यसमा सीडीएस बिपिन रावत, उनका कर्मचारी र परिवारका केही सदस्य थिए । स्थानीय नागरिकले पनि उद्धार अभियानमा सहयोग गरिरहेका छन् ।