एक दर्जन बैंकको लाभांश घट्यो, कुनको कत्ति ?

 कोरखबर   १९ मंसिर, २०७८



१९ मंसिर, काठमाडौं । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये २३ वटा बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । जसमध्ये १० वटा बैंकको लाभांश बढेको छ भने १२ वटा बैंकले लाभांश गत आर्थिक वर्षको तुलनामा घटेको छ । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष वितरण गरेकै बराबर लाभांश घोषणा गरेको छ ।

बाँकी चार वटा बैंकले लाभांश घोषणा गरेका छैनन् ।लाभांश घोषणा गर्न बाँकी रहेका चारवटा बैंकमध्ये कृषि विकास बैंक, सिभिल बैंक, सेञ्चुरी कमर्सियल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । यी बैंकमध्ये लगानीकर्ताको आँखा कृषि विकास बैंकप्रति बढी रहेको छ । उच्च प्रतिफल दिने र शेयर मूल्य पनि तुलनात्मक रूपमा बढी रहेका कारण यस बैंकप्रति लगानीकर्ताको चासो बढी छ । राष्ट्रिय वाणिज्य बैंकप्रति लगानीकर्ताको चासो खासै छैन ।

पूर्ण सरकारी स्वामित्वमा रहेको यस बैंकको दोस्रो बजारमा शेयर कारोबार नहुने भएकाले लगानीकर्ताको चासो नभएका हो । अन्य दुई बैंक सिभिल र सेञ्चुरी बैंकको लाभांशभन्दा पनि अर्को बैंकमा मर्ज हुने आशामा लगानीकर्ता रहेका छन् ।लाभांश घोषणा गरेकामध्ये लगानीकर्तालाई सबैभन्दा बढी प्रतिफल दिनेमा नबिल बैंक रहेको छ । नबिल बैंकले ३३ दशमलव छ प्रतिशत बोनस शेयर तथा चार दशमलव चार प्रतिशत नगद गरी कुल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै सबैभन्दा कम नेपाल एसबीआई बैंकले लाभांश घोषणा गरेको छ । यस बैंकले ३ दशमलव पाँच प्रतिशत बोनस शेयर र एक दशमलव ८१ प्रतिशत नगद गरी जम्मा पाँच दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

त्यस्तै हिमालयन बैंकले २१ दशमलव ३८ प्रतिशत बोनस शेयर तथा चार दशमलव ६२ प्रतिशत नगद गरेर २६ प्रतिशत लाभांश दिने भएको छ । सानिमा बैंकले १७ दशमलव ९ प्रतिशत, नेपाल बैंकले १७ प्रतिशत, प्राइम कमर्सियल बैंकले १६ दशमलव ६३ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत, सिटिजन्स बैंक इन्टरनेसनलले १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । लाभांश घोषणा गरेकामध्ये १४ बैंकले साधारण सभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्दको मिति भएकोमा ११ बैंकको बन्द भइसकेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post