रामेछाप नगरपालिकाले तोक्यो इसीडी शिक्षक र विद्यालय कर्मचारीको मासिक पारिश्रमिक !

 कोरखबर   १७ मंसिर, २०७८



मंसिर १७, रामेछाप । रामेछापको रामेछाप नगरपालिकाले पालिका भित्रका विद्यालयमा कार्यरत (इसीडी शिक्षक) र विद्यालय सहयोगी कर्मचारीको मासिक पारिश्रमिक तोकेको छ ।  प्रारम्भिक बालविकास सहकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (कार्यालय सहयोगी) लाई न्युनतम मासिक १० हजार पाँच सय देखी १५ हजार रूपैयाँसम्म पारिश्रमिक निर्धारण गरी सार्वजनिक गरेको हो ।

नगरपालिकाले इसीडी शिक्षकको पारिश्रमिक विद्यार्थी संख्या अनुसार तोकेको छ भने कार्यालय सहयोगीको पारिश्रमिक कक्षा अनुसार तोकेको छ ।

सार्वजनिक तलव सुचिअनुसार ५ जनासम्म विद्यार्थी हेर्ने इसीडी शिक्षकले मासिक १० हजार पाँच सय रुपैयाँ पारिश्रमिक पाउनेछन् । त्यस्तै ६ देखी १० जनासम्म विद्यार्थी हेर्ने शिक्षकले ११ हजार पाँच सय रुपैयाँ, ११ देखी १५ सम्मकाले १२ हजार पाँच सय, १६ देखी २० सम्मकाले १३ हजार पाँच सय र २१ भन्दा माथि विद्यार्थीसँख्या भएमा १५ हजार रुपैयाँ मासिक पारिश्रमिक पाउनेछन् । 

त्यस्तै कक्षा १ देखी ३ सम्म काम गर्ने कार्यालय सहयोगीले मासिक १० हजार पाँच सय रुपैयाँ पारिश्रमिक पाउनेछन् । १ देखी ५ सम्म कार्यालय सहयोगीको रुपमा काम गर्ने कर्मचारीले ११ हजार पाँच सय रुपैयाँ, १ देखी ७÷८ सम्म १२ हजार पाँच सय, १ देखी १० सम्मकाले १३ हजार पाँच सय र १ देखी १२ कक्षासम्म सहयोगीका रुपमा कार्यरत कर्मचारीले मासिक १५ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । 

विद्यालय कर्मचारी र इसीडी शिक्षकको पारिश्रमिक निकासासम्बन्धी आर्थिक वर्ष २०७८/७९ को बुँदा नं.२१६ मा व्यवस्था भएअनुसार सात हजार रूपैयाँ स्थानीय तहले निकासा दिनुपर्ने स्पष्ट व्यवस्था छ । आठ हजार संघीय सरकारले उपलब्ध गराएको छ । न्युनतम पारिश्रमिक १५ हजार रूपैयाँ पुर्याउनुपर्छ । तर रामेछाप नगरपालिकाले भने विद्यार्थीसंख्या र कक्षागत रुपमा पारिश्रमिक निर्धारण गरेको छ ।

नगरपालिकाले पारिश्रमिक निर्धारण गरेर सार्वजनिक गरेसँगै पालिकाभित्र कार्यरत इसीडी शिक्षक र विद्यालय कर्मचारीहरुले भने निर्णय चित्तबुझदो नभएको भन्दै असन्तुष्टि जनाएका छन् । उनिहरुले यो निर्णय तत्काल संसोधन गर्न माग पनि गरेका छन् ।  



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post