स्कुले विद्यार्थीले सुरु गरे नेपाली भू-उपग्रह !

 रासस   १ मंसिर, २०७८



मंसिर १, काभ्रे । काभ्रेस्थित माध्यमिक तहमा अध्ययनरत ९ जना विद्यार्थीले भू–उपग्रह निर्माण सुरु गरेका छन् । जिल्लास्थित काठमाडौं यूनिभर्सिटी हाइस्कुलका ६ जना, आजाद मावि, चैतन्य मावि र धुलिखेलस्थित सञ्जीवनी नमूना माविका १र१ जना विद्यार्थी भू–उपग्रह निर्माणमा संलग्न छन् ।

विद्यालयस्तरका विद्यार्थीबाट गरिएको यो विश्वकै पहिलो परियोजना भएको दाबी गरिएको छ । नेपाल सरकार, विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट), अन्तरीक्ष प्रतिष्ठान नेपाल र काठमाडौं यूनिभर्सिटी हाइ स्कुलको साझेदारीमा विद्यालय भू–उपग्रह नक्षत्र परियोजना सुरु भएको प्रमुख अनुसन्धानकर्ता तथा नेपाली वैज्ञानिक आभाष मास्केले जानकारी दिए ।

‘यो परियोजना थाइल्याण्डको आर्थिक विकासको लागि प्राविधिक संस्था (मिनी बर्डस्) को एउटा भाग हो,’ मास्केले भने, ‘यस अन्तर्गत थाइल्याण्डले ४ वटा र नेपालले एउटा भू–उपग्रह निर्माण गर्नेछन् ।’ माध्यमिक तहका विद्यार्थीहरू जिज्ञासु, प्रविधियुक्तसमेत हुने भएकोले परियोजनामा उनीहरूलाई संलग्न गराएको मास्केले जानकारी दिए ।

परियोजनाको अवधि २ वर्षको छ । मास्केका अनुसार डाँफे अन्तरीक्ष लक्ष्य अन्तर्गत प्रशिक्षित ६ जना विद्यार्थीको समूहले उनीहरूलाई प्रशीक्षण र सहजीकरण गर्नेछन् । परियोजानामा डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र र युनेस्कोको पनि सहयोग छ ।

काठमाडौं यूनिभर्सिटी हाइस्कुलमा स्थापना गरिएको अन्तरीक्ष प्रणाली प्रयोगशालामा सोही विद्यालयका कक्षा ११ मा अध्ययनरत विज्ञान संकायका श्रेया प्रधान श्रेष्ठ, समृद्धि शर्मा, सुशान्त ढकाल, रजिन रञ्जित, सिद्धार्थ कर्माचार्य, सुभेष गुरुङ, चैतन्य माध्यमिक विद्यालयका संगीता मैनाली, सञ्जीवनी नमूना माविका श्रेया तामाङ र आजाद माविका कान्छाराम स्याङतानले बन्द प्रशीक्षण लिइरहेका छन् ।

जनार्दन सिलवाल, देवराज पन्त, सागर कोइराला, प्रजन श्रेष्ठ, सिरस सैंजु, विकल्प ढुंगानाले उनीहरूलाई प्रशीक्षण र सहजीकरण गरिरहेका छन् । बन्द प्रशीक्षण पुसको दोस्रो सातासम्म चल्ने बताइएको छ ।

मास्केका अनुसार २ वर्षको अवधिमा तयार गरेपछि पृथ्वीबाट ४ सय किलोमिटर पृथ्वीको कक्षमा परिक्रमा गराइनेछ । नेपाली वैज्ञानिक मास्के सम्मिलित नेपाली पहिलो भू–उपग्रह नेपाली स्याट–वान पनि सफल प्रक्षेपण गरिसकेको छ ।

नाष्टका प्रविधि संकाय प्रमुख डा. रवीन्द्र ढकालले नेपालीले नै भू–उपग्रह निर्माण गर्न सक्छन् भन्ने प्रमाणित गर्न विभिन्न संस्थाको सहकार्यमा परियोजना सञ्चालन गरिएको बताए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post