कात्तिक २९, काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौँस्थित अपाङ्गता संरक्षण नेपाललाई सामाजिक उत्तरदायित्वअन्र्तगत १०० वटा सेतो छडीको लागि ९० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकका कामु प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले उक्त रकम अपाङ्गता संरक्षण नेपालका अध्यक्ष विरोध खतिवडालाई हस्तान्तरण गरेका हुन्।
बैंकबाट प्राप्त उक्त सहयोगबाट अपाङ्गता संरक्षण नेपालले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा दृष्टिविहीन व्यक्तिहरूलाई सेतो छडी प्रदान गर्ने अध्यक्ष खतिवडाले जानकारी दिए।
अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार तथा जीवनस्तर सुधारको लागि काम गर्दै आएको उक्त संस्थालाई प्रदान गरिएको सहयोग रकमबाट दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूलाई गतिशीलता तथा स्वतन्त्रताका साथ आफ्नो दैनिकी पूरा गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।