कार्तिक १५, काठमाडौँ । माल्दिभ्स सरकारले नेपाललाई उपहारस्वरूप उपलब्ध गराएका एस्ट्राजेनेका खोप दुई लाख एक हजार छ सय मात्रा आइपुगेको छ। कतार एयरको नियमित उडानमार्फत आइतबार खोप त्रिभुवन विमानस्थलमा आइपुगेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले जनाएको छ ।
यस्तै चीनबाट १६ लाख मात्रा तथा नेपाली सेनामार्फत तीन लाख भेरोसेल खोप तिहारअघि नै आइपुग्ने तालिका रहेको पनि महाशाखाले जनाएको छ । यसअघि सार्क सदस्य भारत र भुटानबाट समेत कोरोनाविरुद्धको खोप नेपालले पाइसकेको छ।
नेपालमा हालसम्म लक्षित जनसङ्ख्यामध्ये ४३ प्रतिशतभन्दा बढीले एक मात्रा खोप लगाएका छन् भने ३६ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।