डाक्टरको लापरवाहीका कारण बच्चा र आमाको ज्यान जोखिममा !

 कोरखबर   २० भदौ, २०७८



२० भाद्र, पर्सा । वीरगन्जमा संचालित एड्भान्स मेडिकेयर अस्प्तालका चिकित्सक प्रसुति रोग विशेषज्ञ डा. सलमा बानुको चरम लापरवाहीको कारण एकजना महिला र बच्चाको ज्यान जोखिममा परेको छ । पैसा लुट्ने मनसायले गर्भवती महिलालाई दबाब दिई शल्यक्रिया गरि प्रसुति गरेकी डा. बानुको चरम लापरवाहीको कारण प्रसुति महिला र बच्चा दुबैको अवस्था गम्भिर रहेको छ ।

आफ्नो कामले पटक पटक विवादमा पर्दै आएकी डा. बानु पुनः विवादमा तानिएकी छिन् । वीरगन्जको एडभान्स मेडिकेयर अस्पितालमा शल्यक्रिया गरेर बच्चा निकालेको प्रसुति महिलाको स्वास्थ्यमा गम्भिर प्रकारको समस्या आएपछि डा. बानु पुनः विवादमा तानिएकी छिन् । पर्साको पोखरिया नगरपालिका निवासी २५ वर्षीय निशा गुप्ताको शल्यक्रिया गरेर बच्चा निकालेपछि निशाको स्वास्थ्यमा समस्या देखिएको थियो ।

डा. बानुले गरेको शल्यक्रिया पश्चात प्रसुति महिलाको पिशाव द्वारबाट दिशा हुन थालेपछि र कुन बेला दिशा भयो भनेर आफैलाई थाहा नभएपछि आफन्तले शल्यक्रियामा लापरवाही भएको भन्दै अस्पतालमा डा. बानु विरुद्धमा विरोध प्रदर्शन समेत गरेका थिए । डा. बानुको लापरवाहीको कारण निशाको ज्यान जोखिममा परेको श्रीमान् श्यामकिशोर प्रसादले जानकारी दिए । शल्यक्रियाको क्रममा पिशाब नली एवं दिशाको नशा काटिन सकेको हुन सक्ने बताइएको छ ।

निशालाई बच्चा गर्भमा बसेदेखि नै डा. बानुको निगरानीमा चेकजाँच गराउँदै आएकोमा प्रसुति गर्ने बेलामा जबरजस्ती दबाब दिएर शल्यक्रिया गरेको बताए । नर्मल डेलिभरि हुने  अवस्था भएपनि डा. बानुले बच्चाले गर्भवती महिलाको पेटमै दिशा खाइसकेको छ, विभिन्न समस्याहरु आउन सक्छ भनेर आफन्तलाई डराएर शल्यक्रिया गराउन बाध्य बनाएको श्रीमान् श्यामकिशोरको भनाई छ ।

गर्भवती महिलालाई शल्यक्रिया गरेर बच्चा निकालेपछि बच्चा स्वस्थ्य हुनुपर्नेमा अहिले बच्चा र आमा दुबैको अवस्था नाजुक रहेको छ । गत सोमवार राति ११ बजे निशाको शल्यक्रिया मार्फत बच्चा निकालिएको थियो । शल्यक्रिया गरेको एक दिन नबित्दै बच्चा र आमाको स्वास्थ्यमा आएको समस्या अँझै पनि सुधार हुन सकेको छैन । बच्चाको अवस्थामा सुधार नभएपछि शुक्रवार नेशनल मेडिकल कलेज रिफर गरेर त्यँही उपचार भइरहेको छ भने आमाको पनि स्वास्थ्य सुधार नभएपछि शनिवार वीरगन्ज हेल्थ केयर अस्पतालमा रेफर गरेर उपचार भइरहेको छ ।

डा. बानुको चरम लापरवाहीको कारण आमा र बच्चा दुबैको ज्यान जोखिममा परेको आफन्त एवं वीरगन्ज महानगरपालिका वडा नंं ९ का वडाध्यक्ष मनोज कलवारले बताए । शल्यक्रिया गरेर निकालेको बच्चाको अवस्था पनि नाजुक छ, आमाको त अवस्था झनै चिन्ताजनक रहेको भन्दै अध्यक्ष कलवारले यसबारे डा। बानुसँग प्रतिक्रिया लिँदा हप्काउनुका साथै भेट्न नखोज्ने जस्ता व्यवहार गरि रहेकोले डा. सलमालाई आतंकवादीको संज्ञा दिँदै आफुहरुसँग छाडा तरिकाले गैरजिम्मेवार अभिव्यक्ति दिएको बताए ।

नारायणी अस्पतालमा कार्यरत डा. सलमा र उनका श्रीमान डा. मेहदी हसन अन्सारीले आफ्नै क्लिनीकका साथै विभिन्न निजी अस्पतालमा पनि काम गर्ने गरेका छन् । प्रसूतिका लागि आउने हरेक महिलाहरुलाई सामान्य तरिकाले प्रसुती नगराएर विभिन्न समस्या देखाउँदै आफ्नो निजी क्लिनिक एवं निजी अस्पतालमा लगेर शल्यक्रिया गराउने गरेको बताइएको छ । यता डा. सलमा बानुले यसबारे अहिले आफूले केही बोल्न नमिल्ने बताइन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post