कोरोना नियन्त्रणमा स्वयंसेवक खटाउँदै कर्णाली सरकार

 कोरखबर   १२ जेठ, २०७८



१२ जेठ, सुर्खेत । कोरोना महामारी नियन्त्रणमा कठिन भएपछि कर्णालीमा स्वयंसेवक खटाइने भएको छ । कर्णाली प्रदेश सरकारले कोरोना संक्रमण नियन्त्रण, संक्रमितको उद्धार, उपचार र शव व्यवस्थापनमा अब स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ । सोमबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

मुख्यगरी प्रदेशका दुर्गम जिल्लाबाट संक्रमितलाई उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा ल्याउनुपर्ने बाध्यता छ । तर प्रदेश अस्पतालसम्म संक्रमितको उद्धार, उपचार र मृत्युपछि शव व्यवस्थापनमा कठिनाइ हुने गरेको छ । यही समस्या समाधानका लागि प्रदेश सरकारले स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्तासमेत रहेकी आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्री सीताकुमारी नेपालीले कर्णालीमा कोरोना महामारी नियन्त्रण, व्यवस्थापन तथा प्रतिकार्यका लागि स्वयंसेवक परिचालन गर्न लागिएको बताइन् ।

प्रदेश सरकारले स्वयंसेवक खटाउनु अघि सेवा गर्न इच्छुकहरुलाई सार्वजनिक रुपमा आह्वान गर्नेछ । यसरी छनौट हुने स्वयंसेवकहरुले गाउँ–गाउँमा कोरोना संक्रमणबारे जनचेतना फैलाउनेदेखि मृतकको शव व्यवस्थापन सम्मका काम गर्नेछन् । ‘संक्रमण गाउँसम्म फैलिएको छ, अहिले पनि धेरै नागरिक कोरोनाबारे सचेत छैनन्’ मन्त्री नेपालीले भनिन्, ‘स्वयंसेवकहरुले गाउँसम्म पुगेर संक्रमितको अवस्था र सावधानीका उपायहरु पनि सिकाउने छन् ।’ सामान्य चिया र खाजाबाहेक स्वयंसेवकलाई निशुल्क खटाइने मन्त्री नेपालीले जानकारी दिइन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post