जनकपुरमा १० दिनमा अक्सिजन उद्योग सञ्चालनमा आउने

 कोरखबर   २ जेठ, २०७८



२ जेष्ठ, धनुषा । कोरोना महामारीको दोश्रो संक्रमण फैलिएसंगै अक्सिजन अभावले संक्रमित दिनहुँ मर्नुपर्ने बाध्यतात्मक अवस्था बीच जनकपुरधाममा अक्सिजन उद्योग सञ्चालनमा आउने भएको छ ।

अधिकांश कोरोना संक्रमितहरुको श्वासप्रश्वासमा समस्या देखिएसंगै अक्सिजनको अभावकै कारण अस्पतालको शैय्यामा छट्पटाईरहेका कोरोना संक्रमितहरुको मृत्यु भइरहँदा जनकपुरधाममै १० दिन भित्रैमा सञ्चालनमा ल्याउनेगरी तीव्र गतिमा निर्माणकार्य अगाडि बढाएको श्री रामजानकी ग्यास उद्योग सञ्चालक बिजयकुमार साहले जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित बेलामा श्रीराम जानकी ग्यास उद्योगले दुई साता भित्रै अक्सिजन उत्पादन गरिने भएको छ ।

उनका अनुसार मेसिन जडानको कार्य ७५ प्रतिशत पूरा भई सकेको र पाइपलाइन जडान गर्ने कार्य सम्पन्न भए लगत्तै अक्सिजन उत्पादन हुने छ ।

उद्योग संचालक साहले भने, ‘हाम्रो लक्ष्य जतिसक्दो चाँडो अक्सिजन उत्पादन गर्ने गरि रफ्तारमा कार्य भईरहेको छ, र अझै १० दिन उद्योग संचालनमा समय लाग्ने छ ।’

सो उद्योगको मेसिन जडान गर्ने काम भारत जयनगरका मैकेनिक ईन्जिनियर पुरुषोत्तम शर्माले गरिरहेका छन् । उनले अक्सिजन उत्पादन गर्ने सबै मेशिन जडान भई सकेको र अक्सिजन फिलिंग गर्ने पाइपलाइनको काम सम्पन्न हुन करिब १० दिन लाग्ने बताए ।

अक्सिजन उत्पादन गर्नका लागि आवश्यक एयर कम्प्रेसर, मोइस्चर सेप्रेसन, एयर फिल्टर, कार्बन फिल्टर, अमोनिया फिल्टर, एयर सेप्रेसन युनिट, फिलिंग युनिट लगायतका यन्त्रहरु जडान भई सकेको उनले बताए ।

श्रीरामजानकी ग्यास उद्योगका संचालक साहले भने, ‘मेसिनहरु जडान भई सकेपछि दिनमा ५ सय भन्दा बढी ठूलो अक्सिजन सिलिण्डर भर्न सक्ने क्षमता रहेपनि तत्काल २ सय सिलिण्डर भर्न सकेमा हाम्रो लागि सफलता हुनेछ ।’

धनुषा जिल्लामा सामान्य दिनमा २ सय सिलिण्डर अक्सिजन खपत हुदैँ आएको थियो भने अहिले कोरोना महामारीको बेला ५ सय सिलिण्डर भन्दा बढी खपत भईरहेको अवस्था छ । तर सो अक्सिजन सिलिन्डर ग्यास समेत उपलब्ध नहुदाँ धनुषामा दिनहुँ ३ जनाको दरले कोरोना संक्रमणका मर्नुपरिरहेको अवस्था छ ।

धनुषाकोे ढल्केवरमा ढल्केवर अक्सिजन उद्योग छ भने यो दोश्रो उद्योग खुल्दैँछ । यो उद्योग संचालनमा आएमा यहाँका वासीलाई निकै ठुलो राहत मिल्नेछ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post