बैशाख २३, वीरगन्ज । भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्जहुँदै नेपाल प्रवेश गर्ने १ सय ६१ जनामा कारोना संक्रमण भेटिएको छ । नेपालको मुख्य नाका वीरगन्जको इनर्वास्थित शंकराचार्य प्रवेशद्धारमा स्थापना गरिएको हेल्थ डेस्कमा एक महिनाको अवधिमा भारतबाट आउनेको स्वास्थ्य चेकजाँच गर्दा १६१ जनामा कोरोना संक्रमण भेटिएको हो ।
नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा गत चैत २३ गते देखि वैशाख २२ बुधबार बेलुकीसम्म भारतबाट आउने १ हजार ८ सय ५ जनाको एन्टिजेन परीक्षण गर्दा १६१ जनामा कोरोना संक्रमण भेटिएको हो ।
संक्रमण भेटिएका १६१ जनामध्ये नेपाली ६७ जना र बाँकी ९४ जना भारतीय रहेको हेल्थ डेस्कमा खटिएका अहेब सैनुल्लाह हवारीले बताए । नेपाली संक्रमितलाई उनीहरुको सम्बन्धित पालिकासँग समन्वय गरेर होम आइसोलेसनमा बस्ने गरी पठाइएको हवारीले जानकारी दिए ।
भारतीय संक्रमितलाई भने रक्सौलस्थित भारतीय प्रहरीसँग समन्वय गरी एम्बुलेन्समा राखेर भारततर्फ नै फर्काइएको हवारीले बताए । छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर सुरु भएपछि वीरगन्जको इनर्वा नाकाको हेल्थ डेस्कमा चैत २३ गते देखि एन्टिजेन विधिबाट कोरोनाको परीक्षण गर्न थालिएको हो ।
अन्सारीका अनुसार नाकाको हेल्थ डेस्कमा लामो समय भारतमा बसेर फर्किने नेपाली , भारतको भित्री भागबाट आउने भारतीय र शंकास्पद व्यक्तिको मात्रै एन्टिजेन विधिबाट जाँच गर्ने गरिएको छ ।
भारतबाट आउने अन्यलाई भने थर्मल गनबाट तापक्रम मात्र नापेर वीरगन्ज प्रवेश गर्न दिइएको छ । चैत ६ देखि हेल्थ डेस्क संचालनमा ल्याइएको जानकारी दिँदै त्यस दिनदेखि वैशाख २२ गते बेलुकीसम्म ८ हजार २ सय ५३ जनाको थर्मलगनबाट तापक्रम नापेर नेपाल प्रवेश गर्न दिइएको उनले बताए ।