बैशाख २१, वीरगञ्ज । कोरोना संक्रमणका कारण पर्सामा थप दुई जना युवकको मृत्यु भएको छ भने बारामा एक बृद्धको मृत्यु भएको छ।
संक्रमणका कारण पर्साको वीरगञ्ज महानगरपालिका–१६ का २६ वर्षका युवकको नारायणी अस्पतालमा मृत्यु भएको छ। गत वैशाख १६ गते उपचारको लागि अस्पताल भर्ना भएका युवकको मंगलबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पताल कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए। निमोनिया र फोक्सोले काम नगर्दा उनको ज्यान गएको हो।
यस्तै सोमबार राति पर्सागढी नगरपालिका वडा नम्बर ९ निवासी ३४ वर्षका पुरुषको मृत्यु भएको छ। उनको सोमबार राति नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटेलको आइसोलेशनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका कोभिड फोकल पर्सन विनय श्रीवास्तवले जानकारी दिए। गत वैशाख ७ गते नै ती पुरुषमा कोरोना पुष्टि भएपनि १८ गते मात्रै उनी अस्पतालमा भर्ना भएका थिए।
उता बाराको कलैया उपमहानगरपालिकाका एक बृद्धको कोरोना संक्रमणका कारण सोमबार राति मृत्यु भएको छ। कलैया–२६ निवासी ६५ वर्षका वृद्धको उपचारको क्रममा चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।
गत वैशाख १९ गते ती बृद्धमा कोरोना संक्रमण पुष्टि भएको उपचारको क्रममा राति ९ बजेर ३५ मिनेटमा अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए।
यसैबीच सोमबार राति वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परिक्षणमा थप १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालको प्रयोगशालामा १ सय ९२ जनाको स्वाब परीक्षण गर्दा पर्सा, बारा र रौतहटका गरी १ सय १५ जनामा संक्रमण देखिएको अस्पतालका कोभिड संयोजक डा।सरोज रोशन दासले जानकारी दिए।
संक्रमण देखिनेमा सबैभन्दा बढी पर्सा जिल्लाका ८७ जना रहेका छन्। यस्तै बाराका २४ जना र रौतहटका ४ जनामा कोरोना पुष्टि भएको दासले बताए।