कोरोनाबारे संसदमा स्वास्थ्यमन्त्रीको ब्रिफिङ : संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्नसक्छ !

 कोरखबर   २४ चैत, २०७७



२३ चैत, काठमाडौं । सरकारले आगामी जेठ–असारमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने आंकलन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पछिल्ला दिनहरुमा फेरि संक्रमण बढ्न थालेको बताए । आइतबार संसद बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्नसक्छ ।’

यसअघि कात्तिक महिनामा संक्रमण उच्च थियो । कात्तिक ५ गते एकैदिन ५७४३ नयाँ संक्रमित भेटिएका थिए भने १० गते पोजेटिभिटी रेसियो (परीक्षणका आधारमा संक्रमितको अनुपात) ३५ प्रतिशत थियो ।

भारतमा बढ्दो संक्रमणले नेपाललाई थप सचेत बनाएको समेत मन्त्री त्रिपाठीले बताए । पुनः लकडाउनमा जान नपरोस् भनेर अपनाउनुपर्ने सबै प्रभावकारी कदम अपनाउन सरकार तयार रहेको भन्दै उनले अघि भने, ‘अहिलेको नेपालको अवस्था आतंकित हुनुपर्ने छैन ।’

उनकाअनुसार झण्डै १८ लाख नागरिकलाई खोप दिइसकेको छ र असारसम्म ६० लाख जनतालाई दिने सरकारको लक्ष्य छ । खोप ल्याउन रकम अभाव नहुने भन्दै उनले भने, ‘खोपका लागि ४८ अर्ब बजेट सुरक्षित छ । त्यति पनि खर्च नहोला ।’

मन्त्री त्रिपाठीले कोरोनामा भएको खर्चको स्वेत पत्र जारी गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post