जागीर सरकारी, काम निजिमा : हेटौंडा अस्पतालका दुई चिकित्सक बर्खास्त !

 कोरखबर   १ चैत, २०७७



चैत १, हेटौंडा । हेटौंडा अस्पतालमा कार्यरत दुई जना चिकित्सक बर्खास्तीमा परेका छन् । अस्पतालमा करारमा कार्यरत जनरल सर्जन विशेषज्ञ डा. साजित अन्सारी र छाला तथा यौनरोग विशेषज्ञ डा. बुद्धिराज पाण्डेलाई अस्पतालको नियमविपरीत कार्य गरेको भन्दै अस्पताल विकास समितिको शुक्रबारको बैठकले सेवाबाट बर्खास्त गरेको हेटौंडा अस्पतालका निमित्त सुपरिटेण्डेण्ट डा. प्रविण श्रेष्ठले बताए ।

करिब ६ वर्षदेखि हेटौंडा अस्पतालमा कार्यरत डा। अन्सारीविरुद्ध बारम्बार सेवाग्राहीको गुनासो आउने र ड्युटी समयमा धेरै पटक निजी क्लिनिकमा काम गर्दै गरेको अवस्थामा भेटेपछि अस्पतालले बर्खास्त गरेको डा. श्रेष्ठले बताए ।

डा.अन्सारीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा आफ्नै निजी क्लिनिकसमेत सञ्चालन गरिरहेका छन् । अस्पतालमा बिरामीको जाँच गर्न छोडेर डा.अन्सारी ड्युटीको समयमै निजी अस्पताल तथा क्लिनिकहरूमा व्यस्त रहने गरेको हेटौंडा अस्पताल विकास समितिको निष्कर्ष छ ।

त्यस्तै, अस्पताल विकास समितिले छाला तथा यौनरोग विशेषज्ञ डा.बुद्धिराज पाण्डेलाई अस्पतालमा आएका बिरामीलाई निजी क्लिनिकबाटै औषधि खरिद गर्न बाध्य बनाउने गरेको भन्दै सेवाबाट हटाएको छ। डा. पाण्डेले अस्पतालका बिरामीहरुलाई औषधि खरिदका लागि निजी क्लिनिक तोकेर पठाउने गरेको र अस्पतालमा जानकारी नगराई आफुखुशी बिदा बस्ने गरेको कारण सेवाबाट हटाएको अस्पतालले जनाएको छ ।

शुक्रबार नै एक सेवाग्राहीले अडियो रेकर्डसहित अस्पताल प्रशासनमा गुनासो गरेपछि उनीहरुलाई अस्पतालले सेवाबाट हटाएको डा. श्रेष्ठ बताउँछन् ।सेवाग्राहीको गुनासोका आधारमा अस्पतालले उनीहरुसँग बारम्बार स्पष्टिकरण सोधेको र चेतावनीस्वरुप पटक पटक निलम्बनसमेत गरेको थियो ।

अस्पताल प्रशासनको निलम्बन र चेतावनीको बेवास्ता गर्दै काममा कुनै सुधार नआएपछि उनीहरुलाई सेवाबाट हटाउन बाध्य भएको हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताए । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post