४ फागुन, गुल्मी । बेलायतमा रहेका गुल्मीका दुई युवाले गाउँमा स्वास्थ्यचौकीको भवन निमार्णका लागि पाँच रोपनी जग्गा दान गरेका छन्।
गुल्मीको चन्द्रकोट गाउँपालिका–७ रुपाकोटको स्वास्थ्यचौकी भवन निर्माणका लागि स्थानीय मोतीराज भण्डारी र तारानाथ भण्डारीले पाँच रोपनी जग्गा दान गरेका हुन्।
हाल बेलायतमा बस्दैआएका भण्डारीद्वयले सात लाखमा जग्गा खरिद गरेर स्वास्थ्यचौकीको नाममा पास गरिदिएका छन्। उक्त जग्गामा निर्माण हुनलागेको स्वास्थ्यचौकी भवनको गाउँपालिकाका अध्यक्ष द्रोर्णबहादुर खत्रीले शिलान्यास गरेका छन्।
स्वास्थ्यचौकी भवनको शिलान्यास गर्दै अध्यक्ष खत्रीले भण्डारीद्वयले जग्गा दान गरेर समाजमा उदाहरणीय काम गरेको बताए। पुस्तौ पुस्ताले उनीहरूको स्मरण गरिरहने भन्दै खत्रीले गाउँपालिकाको तर्फबाट आभार प्रकट गरे।
एक करोड ५७ लाख रुपैयाँको लागतमा स्वास्थ्यचौकीको भवन निर्माण गर्न गाउँपालिका र डि एण्ड डि पुष्पाञ्जली जेभीबीच माघ १९ गते नै सम्झौता भएको थियो।
आगामी २०७८ साल माघ १ गते भित्र भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरि सक्नुपर्ने सम्झौता भएको गाउँपालिकाका सूचना अधिकारी शिव ज्ञवालीले जानकारी दिए।