फागुन ४, काठमान्डौ । कोभिड-१९ को महामारी देखा परेयता अझ सङ्क्रामक प्रकृतिका नयाँ प्रकारका कोरोनाभाइरसहरू देखा परिरहेका छन्।
यसमध्ये सबैभन्दा पहिला यूकेमा देखापरेको कोरोनाभाइरसको प्रकार विश्वमा व्यापक रूपमा फैलिन सक्ने यूकेको आनुवंशिक निगरानी कार्यक्रमका प्रमुखले भविष्यवाणी गरेका छन्।
अहिलेको खोपले कतिपय कोरोनाभाइरसका प्रकारमा राम्रोसँग काम नगर्ने भनिएको छ।
कोरोनाभाइरसका हजारौँ प्रकार फैलिरहेको बताइन्छ। तर विज्ञहरूले केहीमा जोड दिइरहेका छन्।
यूके वा केन्ट भेरिअन्ट ब्रिटेनको अधिकांश क्षेत्रमा फैलिएको छ। यो विश्वका ५० भन्दा देशमा पुगिसकेको छ र यसले अझै पनि म्यूटेशन (उत्परिवर्तन) गरिरहेको बताइन्छ। यूकेले परीक्षण बढाएर कोभिड-१९ पत्ता लगाउन र सङ्क्रमण फैलनबाट रोक्न प्रयास गरिरहेको छ।
साउथ अफ्रिकाको नयाँ प्रकारको कोरोनाभाइरस यूके सहित कम्तीमा २० वटा देशमा फेला परेको छ। ब्राजिलमा पनि नयाँ प्रकारका कोरोनाभाइरस देखा परेको छ।
नयाँ किसिमका भाइरस देखा पर्नु अनपेक्षित होइन। सबै भाइरसहरूले फैलने र आफूलाई जोगाउने क्रममा आफ्नो स्वरूप परिवर्तन गर्छन्। तर अधिकांश उत्परिवर्तन त्यति महत्वपूर्ण हुँदैनन्। कतिपय भाइरस स्वयम्का लागि घातक हुनसक्छन् भने कतिले भाइरसलाई अझ सङ्क्रामक बनाउँछन्।
सङ्क्रमण भएका बहुसङ्ख्यक मानिसहरूमा नयाँ प्रकारको भाइरसका कारण कुनै पनि नयाँ प्रकारको बिरामी देखा परेको छैन। सुरुको प्रकार जस्तै, ज्येष्ठ नागरिक वा पहिल्यैदेखि उल्लेख्य स्वास्थ्य समस्या रहेका व्यक्तिमा नयाँ भाइरसको जोखिम बढी रहेको पाइएको छ।
यूकेमा देखा परेको कोरोनाभाइरसको प्रकारबारे केही अनुसन्धानले ३० प्रतिशतसम्म मृत्युको जोखिम बढाउनसक्ने भनिएको छ। प्रमाणहरू बलिया छैनन् र अझै पनि तथ्याङ्कबारे अन्यौल छ।
हात धुने, अरू मानिसहरूबाट निश्चित दूरी कायम राखेर बस्ने र अनुहार ढाक्ने मास्क प्रयोग गर्ने जस्ता कामले सङक्रमणलाई नियन्त्रण गर्न मद्दत गर्छन्। तर नयाँ किसिमको सङ्क्रमण अझै सजिलै गरी फैलने भएकाले थप चनाखो हुनु जरूरी रहेको देखिन्छ।
यूके, साउथ अफ्रिका वा ब्राजिलमा देखा परेका नयाँ प्रकारका कोरोनाभाइरसहरूले सजिलै सङ्क्रमित तुल्याउन सक्छन्। यी तीनैको भाइरसको मानव कोषसँग टाँसिने अङ्ग स्पाइक प्रोटिनमा उल्लेख्य परिवर्तन भएको छ।
त्यसको परिणाम स्वरूप कोषलाई सङ्क्रमित बनाउने र भाइरस फैलाउने उनीहरूको क्षमता बढी छ। विज्ञहरूले यूके वा केन्टबाट सुरु भएको प्रजाति सेप्टेम्बरमा देखा परेको र त्यो सम्भवत ७० प्रतिशत बढी फैलनसक्ने वा सङ्क्रामक हुनसक्ने बताएका छन्।
पब्लिक हेल्थ इङ्ल्यान्डले गरेको पछिल्लो अनुसन्धानले त्यो प्रतिशत ३० देखि ५० को हाराहारीमा हुने उल्लेख गरेको छ। अक्टोबरमा दक्षिण अफ्रिकामा देखा परेको प्रकारको स्पाइक प्रोटिनमा सम्भवत अझ महत्त्वपूर्ण परिवर्तनहरू देखिएका छन्।
यूकेमा देखा परेको कोरोनाभाइरसको सानो सङ्ख्यामा त्यस्तै परिवर्तन देखा परेको हालै फेला पारेका विज्ञहरूले त्यसप्रति चिन्ता जनाएका छन्। त्यसमा ईफोरएटफोरके भनिने प्रमुख उत्परिवर्तन पनि छ जसले भाइरसलाई एन्टीबडी भनिने प्रतिरोधी प्रणालीको हिस्सालाई छल्न मद्दत गर्नसक्छ।
ब्राजिलमा जुलाइमा नयाँ प्रकारको कोरोनाभाइरस देखा परेको हो र त्यसमा पनि ईफोरएटफोरके उत्परिवर्तन देखा परेको छ।
अहिले विकास गरिएका खोपहरू कोरोनाभाइरसका अघिल्ला प्रकारहरूसँग जुझ्न बनाइएको भएपनि वैज्ञानिकहरूले उनीहरूले नयाँ भाइरसविरूद्ध पनि काम गर्ने विश्वास लिएका छन्। तर खोप कम प्रभावकारी हुनसक्ने भने बताइएको छ।
नयाँ प्रकारका कोरोनाभाइरसविरूद्ध फाइजर खोप प्रयोग गरिदाँ त्यो थोरै कम प्रभावकारी भएको प्रारम्भिक अध्ययनमा पाइएको थियो। चाँडै अनुमति पाउने भनिएका नोभाभ्याक्स र जेनसेन दुईवटा खोपहरूले पनि केही सुरक्षा दिने देखिन्छ।
अक्सफर्ड आस्ट्राजेनेकाको खोप टोलीको तथ्याङ्कले यसले यूकेमा देखा परेको नयाँ प्रकारको कोरोनाभाइरसविरूद्ध सुरक्षा दिने पाइएको छ। तर उक्त खोपले दक्षिण अफ्रिकामा देखिएको भाइरसको प्रकारमा कम सुरक्षा दिने भएपनि गम्भीर बिरामीबाट जोगाउने भनिएको छ।
प्रारम्भिक परिणामले मोडेर्ना खोप दक्षिण अफ्रिकामा देखिएको नयाँ खालको भाइरसविरूद्ध प्रभावकारी हुने सङ्केत दिएको छ तर प्रतिरोधी प्रतिक्रिया दीर्घकालीन नहुनसक्ने भनिएको छ। भविष्यमा अझ फरक प्रकारका कोरोनाभाइरसका प्रकारहरू पनि देखा पर्नसक्छन्।
सबैभन्दा खराब अवस्थामा खोपमा परिवर्तन गर्न वा त्यसलाई समयसापेक्ष बनाउन सकिन्छ जसका लागि हप्तौँ वा महिनौँसम्मको समय लाग्नसक्ने विज्ञहरू बताउँछन्। त्यस्तो परिवर्तनको अवस्थामा रुघाखोकीका लागि जस्तै प्रत्येक वर्ष कोरोनाभाइरसविरुद्ध नयाँ सुइ दिनुपर्ने हुनसक्छ।
नयाँ किसिमका कोरोनाभाइरसहरू देखा परिरहेका छन्। विश्वभरका वैज्ञानिकहरूले नजिकबाट नियालिरहेका छन् र महत्वपूर्ण प्रकारका भाइरसहरूलाई नजिकबाट अध्ययन र अनुगमन गरिरहेका छन्।
विज्ञहरूले कोरोनाभाइरसको खोपलाई थप परिमार्जित गर्न अहिले नै काम गरिरहेका छन्। यूके सरकारले बायोफर्मास्युटिकल कम्पनी क्योरभ्याकसँग भविष्यमा देखापर्ने कोरोनाभाइरसको प्रकारविरूद्ध खोप विकास गर्ने विषयमा सम्झौता गररहेको छ।
दक्षिण अफ्रिकामा देखा परेको प्रकारको कोरोनाभाइरस र अरू प्रकारका इफोरएटफोरके उत्परिवर्तन देखा परेका कोरोनाभाइरसविरूद्ध तत्कालै परीक्षण गर्ने काम ब्रिटेनका विभिन्न ठाउँहरूमा भइरहेको छ। (बीबीसी)