१९ माघ, काठमाडौं । देशभर हालसम्म ८८ हजार ७ जनाले कोरोना भाइरसविरुद्ध खोप लिएका छन् ।
जसअन्तर्गत प्रदेश १ मा १२ हजार ७६३, प्रदेश २ मा ११ हजार ५७, बाग्मती प्रदेशमा २८ हजार ६८३, गण्डकी प्रदेशमा १२ हजार ३११, लुम्बिनी प्रदेशमा १० हजार ७६०, कर्णाली प्रदेशमा ५ हजार ५५६ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ८७७ जनाले खोप लगाएका छन् ।
सरकारले कोभिड–१९ रोकथाममा खटिएका फ्रन्टलाइनर ४ लाख ३० हजार जनालाई प्राथमिकताका साथ लगाउने निर्णय गरेअनुरूप अब ३ लाख ४१ हजार ९९३ जनालाई खोप लगाउन बाँकी छ ।
भारत सरकारले उपहारस्वरूप उपलब्ध गराएको १० लाख डोज (मात्रा) खोप ७७ जिल्लाका १८५ खोप केन्द्रबाट खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार चौथो दिनसम्म ६४ हजार ४२२ व्यक्तिले खोप लगाएका थिए ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पहिलो चरणमा प्राथमिकतामा परेका लक्षित समूहमा पर्ने व्यक्तिमध्ये स्वास्थ्यकर्मीले अबको पाँच दिनभित्र खोप लगाउन आग्रह गरिएको छ ।
स्वास्थ्यकर्मीले काउन्सिल दर्ता, आधिकारिक परिचय पत्र र संस्थाबाट सिफारिस पत्रसहित सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयमा नाम दर्ता गरी खोप लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।