१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको खोप सबै नेपालीले निस्शुल्क पाउने बताएका छन्।
खोप अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैलाई निस्शुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन्। ‘सबै नेपालीलाई खोप निशुल्क हुन्छ र प्राथमिकताका आधारमा सबैलाई दिइन्छ, यसमा तपाईँ सबै निश्चिन्त हुनुहोस्,’ प्रधानमन्त्री ओलीले भने।
१० लाख डोज अनुदानमा खोप उपलब्ध गराएकोमा भारत सरकारलाई प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गरे। अन्य देशहरु र कोरोना विरुद्धको खोप उत्पादन गरिरहेका कम्पनीहरुसंग खोपका बारेमा कुरा भईरहेको र यसले चाँडै सकारात्मकता पाउने उनले विश्वास व्यक्त गरे ।
उनले अहिले खोप लिएकाहरूले २८ दिनपछि खोपको दोस्रो डोज लिनुपर्ने भन्दै त्यसलाई व्यवस्थित ढंगले सञ्चालन गर्न निर्देशन दिए।
विश्वव्यापी महामारीको रूप लिएको कोरोनाले शक्तिशाली राष्ट्रहरूलाई समेत अफ्ठेरो पारेको भन्दै नेपालले भने डटेर सामना गरेको प्रधानमन्त्री ओलीले दावी गरे। प्रधानमन्त्री ओलीले कोभिड विरुद्ध खटिने स्वास्थ्यकर्मीहरूलाई धन्यवाद र मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।