कोरोना खोप छिट्टै आउछ, पहल भैरहेको छ : मन्त्री त्रिपाठी

 कोरखबर   २७ पौष, २०७७



पुस २७,काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना विरूद्धको खोप प्राप्तिका लागि सरकारले पहल गरिराखेको बताएका छन्।   रूस, भारत र युएईका राजदूतसँग खोप आपूर्ति लगायतबारे कुराकानी गरिएको उल्लेख गर्दै मन्त्री त्रिपाठीले छिट्टै खोप ल्याइने जानकारी दिए।

‘खोप अभियानका रूपमा सञ्चालन गर्ने तयारी छ। प्राप्तिदेखि लगाउनेसम्म अभियान सञ्चालन गर्ने हो,’ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘छिमेकी देशहरूमा खोप आइसक्यो हामीले कहिले पाउने भन्ने चिन्ता देखिएको छ। समाचारहरू पनि आएका छन्। हामी छिट्टै खोप ल्याउँछौं।’

उनले अन्य चिजजस्तो खोप ल्याउन सहज भने नरहेको बताए।  उनले खोप ल्याएपछि भण्डारण र खोप लगाउने जनशक्तिलगायत आन्तरिक व्यवस्थापनको काम अब धेरै बाँकी नरहेको पनि बताएका छन्। खोप प्राप्तिका लागि हरेक सम्भावनालाई सरकारले अगाडि बढाइरहेको उनको भनाइ थियो।उनले खोप खरिद पारदर्शी हुने पनि प्रतिवद्धता जनाएका छन्।

‘सरकारले पनि खरिद नगर्ने निजी क्षेत्रलाई पनि खोप खरिद गर्न नदिने गरेजस्तो गरेको भन्ने खालका आलोचना भएका छन्,’ उनले भने, ‘सकेसम्म सरकारले अरू देशका सरकारसँग नै समन्वय गरी खोप प्राप्तिका काम गर्छ। खरिद प्रक्रियामा निजी क्षेत्रलाई पनि पर राख्दैनौं।’

उनले खोप ल्याएपछि पहिले स्वास्थ्यकर्मीलाई लगाइने र त्यसपछि ५५ वर्षमाथिका रोगबाट पीडितलाई लगाइने जानकारी दिए। खोप खरिदका लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भइसकेको र कानुनी अड्चनसमेत हल भइसकेको उनको भनाइ थियो। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post