मंसिर २६, गोरखपुर । भारतको उत्तरप्रदेश राज्यमा आमाछोरीकै बिहे एउटै मण्डपमा एकसाथ भएको छ । मुख्यमन्त्री सामूहिक विवाह योजनाअन्तर्गत एकै मण्डमा आमाछोरी एकसाथ बेहुली बनेर आ–आफ्नो जीवनसाथीलाई बरमाला पहि(याएका हुन् ।
गोरखपुरको पिपरौली ब्लकमा आयोजित विवाह समारोहमा ५३ वर्षीय बेलादेवीले आफ्नै देवर जगदीशसँग विवाह गरेकी हुन् भने उनकी छोरी इन्दुले राहुल नाम गरेका युवकसँग विवाह गरेकी हुन् ।
सो समारोहमा ६३ जोडीको विवाह एकसाथ सम्पन्न भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
समारोहमा सबैभन्दा बढी चर्चा भने बेला र जगदीशको विवाहले पाएको थियो । पिपरौली ब्लककै कुरमौल गाउँ निवासी जगदीशका जेठो दाजु हरिहरको निधन करिब २५ वर्ष अघि भएको थियो । पतिको निधनपछि बेलादेवीले दुई छोरा र तीन छोरीको पालनपोषणका लागि निकै संघर्ष गरिन् । उनका दुई छोरा र दुई छोरीको विवाह भइसकेको छ भने कान्छी छोरीको विवाह मुख्यमन्त्री सामूहिक विवाह योजना अन्तर्गत गराउने तयारी भइरहेको थियो ।
यसबीचमै बेलादेवी र उनका कान्छो देवर जगदीशले आपसमा विवाह गर्ने फैसला गरे । बेला विधुवा रहेको र जगदीश अविवाहित नै रहेका कारण परिवारका अन्य सदस्यहरुले उनीहरुको प्रस्तावमा खासै असहमति जनाएनन् ।
परिवारका सदस्यहरुको उपस्थितिमै उनीहरुले पनि सामूहिक विवाह कार्यक्रममा दाम्पत्य जीवन सुरु गरेका हुन्, जहाँ बेलादेवीकी कान्छी छोरीको पनि विवाह भइरहेको थियो । —एजेन्सी