मंसिर १२, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले पाँच श्ययाको अस्थायी कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न बिहीबारदेखि वडा नम्बर–५ दुर्छिमस्थित स्वास्थ्यचौकीमा विशेषज्ञ चिकित्सक सहितको अस्पताल बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो ।
एक नम्बर प्रदेश सरकारको रु दश लाख सहयोगमा सो अस्पताल सञ्चालनमा आएको हो ।अस्पतालको समयावधि सकिएपछि पनि निरन्तरता दिने गरी सञ्चालन गरिएको नगरप्रमुख इवन राईले जानकारी दिए ।
डा. कृष्ण राउतसहित दुई जना स्टाफनर्स र एक जना कार्यालय सहयोगीले सेवा दिन शुरुआत गरेका छन् । तीन महिनासम्म प्रदेश सरकारको लगानीमा सञ्चालन हुने अस्पताललाई नगरपालिकाले निरन्तरता दिने भएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् ।
एघार वडा रहेको नगरपालिकामा यसअघि चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । रोजगारी तथा विभिन्न काममा बाहिरबाट आएका उनीहरु चारै जना उपचारपछि सङ्क्रमणमुक्त भइसकेका नगरपालिकाले जनाएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा यसअघि दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पनि पाँच श्ययाकै अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको थियो । जिल्लाका अन्य स्थानीय तहमा पनि धमाधम स्थापनाको काम भइरहेको पाइएको छ ।