तत्काल नखुल्ने भए काठमाडौंका विद्यालय !

 कोरखबर   १२ मंसिर, २०७७



‘मंसिर १२,काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ। पहिलेको तुलनामा कोरोना संक्रमण दर कम भए पनि जोखिम कायमै रहेको भन्दै महानगरले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने र अझै केही समय वैकल्पिक माध्ययमबाट नै पठनपाठन हुने जनाएको हो।

गत कात्तिक २० गते बसेको मन्त्रिपरिषद् बैठकले केही कार्यविधि बनाई सञ्चालनको जिम्मा सम्बन्धित स्थानीय तहलाई दिइसकेको छ। विद्यालय सञ्चालन गर्ने भन्दै हालसम्म कुनै पनि विद्यालयले अनुमति नमागेको पनि कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिए।

विश्वभरि फैलिएको कारोनाका कारण गत चैतदेखि देशभरिका विद्यालय बन्द छन्। अहिले उपत्यका बाहिरका केही विद्यालय सञ्चालन भए पनि जोखिम कायम रहेका केही स्थानमा अझै सञ्चालन हुनसकेको छैन।

काठमाडौं उपत्यका नगरपालिका फोरमको केही दिनअघि बसेको बैठकले पनि अहिलेकै अवस्थामा विद्यालय खोल्न नसकिने बताएको छ। उपत्यकामा सङ्क्रमण कम भएपछि स्वास्थ्यविज्ञको सल्लाहमा कार्यढाँचा तयार गरी सञ्चालन गरिने कामपाले जनाएको छ।

हाल कामपाका ९१ सामुदायिक विद्यालयमा ४२ हजार विद्यार्थी अध्ययनरत छन् भने ५४१ संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी छन्। रासस



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post