ट्रम्पलाई अर्को धक्का , अदालतद्वारा उजुरी खारेज !

 कोरखबर   २१ कार्तिक, २०७७



वासिङटन, कात्तिक २१ । अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।

राष्ट्रपतिका उम्मेदवारसमेत रहनुभएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गरेकाले विवाद भएको हो ।

पूर्वउपराष्ट्रपति जो बाइडेनले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मतगणनामा लगातार पछाडि पारिरहनुभएको छ । अमेरिकामा अहिलेसम्म ५० मध्ये ४४ राज्यबाट मतपरिणाम आइसकेको छ ।

निर्वाचनमा धाँधली भएको आरोप लगाउनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतबाट मागेको सहारा पनि पाउन असफल हुनुभएको छ । मतगणना तत्काल रोक्न माग गर्दै उहाँले संघीय अदालतमा दिएका उजुरीहरु अदालतले खारेज गरिदिएका छन् ।

ट्रम्पले आफ्नो मतान्तर कम भएका वा बाइडेनले अग्रता लिएका राज्यहरूमा धाँधली र चुनावी अनियमितता भएको आरोप लगाउनुभएको हो । बाइडेन झिनो मतले अगाडि रहेको नेभाडा राज्यमा यसअघिसम्म ट्रम्पको पक्षमा मत आउने आशामा उहाँका समर्थकहरूले मतगणना रोक्न माग गरेका थिएनन् ।

ट्रम्पले विस्कन्सिन, मिचिगन, पेन्सिल्भेनिया र जोर्जिआ राज्यहरूमा मतगणनालाई कानुनी चुनौती दिँदै उजुरी दिनुभएको हो । उहाँले लगाएको आरोप पुष्टि गर्नेगरी प्रमाणहरु नपुगेकोले ट्रम्प पक्षधरद्वारा दर्ता गरिएको उजुरी खारेज गरिएको अदालतले जनाएको छ ।

जोर्जिआमा ढिलोगरी आएका ५३ ओटा मतपेटिकालाई नोभेम्बर ३ मा भएको निर्वाचनको मतपेटिकासँग मिसाइएको दाबीसहित मुद्दा दायर भएको थियो । मिचिगनमा भने मतगणना रोक्न माग गर्दै मतगन्तीको प्रक्रियामा पहुँचको माग गरिएको थियो । राष्ट्रपति ट्रम्पले पेन्सिल्भेनियामा मतगणना रोक्न गरेको कानुनी अनुरोधलाई पनि अस्वीकार गरिएको छ ।

राज्यका अधिकारीहरूले रिपब्लिकनलाई मतगणना निरीक्षण गर्न दिइएको बताउँदै एकजना प्रतिनिधिले सामाजिक दूरीको नियम पालना नगरेको बताएका थिए ।

ती राज्यका न्यायाधीशले उजुरी खारेज गरिदिएको र मतगणना रोक्न आवश्यक नभएको फैसला सुनाएका थिए । अदालतले उजुरी खारेज गरिदिएपछि राष्ट्रपति ट्रम्पलाई अर्को धक्का भएको छ ।

राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीले नेभाडाको मतदानमा पनि धाँधली भएको भन्दै उजुरी दर्ता गरेको छ । शुक्रबार दर्ता गरिएको उजुरी ट्रम्पको तर्फबाट अन्य राज्यमा दर्ता गरिएको जस्तै रहेको जनाइएको छ ।

प्रमाण नदिइएको सो मुद्दामा क्लार्क काउन्टीमा हुलाकमार्फत् आएका मतपत्र जाँचमा अनियमितता र तीन हजारभन्दा बढी फर्जी मतदान भएको दाबी गरिएको छ ।

अमेरिकामा अहिले मतगणना भइरहेका पेन्सिल्भेनिया, नेभाडा, एरिजोना, जोर्जिआ र नर्थ क्यारोलाइनामा स्पष्ट विजेता देखापरिसकेका छैनन् ।

पेन्सिल्भेनियामा मात्र जितेमा वा बाँकी चारमध्ये दुईओटामा मात्र जितेमा पनि बाइडेन राष्ट्रपतिमा निर्वाचित हुनुहुनेछ । ट्रम्पले जित्नका लागि भने पेन्सिल्भेनियासहित बाँकी चारमध्ये तीनओटा राज्यमा जित्नैपर्ने हुन्छ ।

यसअघि, ट्रम्पको अग्रता पेन्सिल्भेनियामा खुम्चँदै थियो भने अब अर्को राज्य जोर्जिआमा पनि उस्तै स्थिति देखापरिरहेको छ । अमेरिकामा अहिले मतगणना र मुद्दा मामिला भइरहेका बेला दुवै उम्मेदवारले विभिन्न प्रतिक्रिया दिएका छन् ।

प्रतिस्पर्धामा रहनुभएका वर्तमान राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दाबी गर्दै आउनुभएको छ भने अर्का प्रतिस्पर्धी तथा पूर्वउपराष्ट्रपति जो बाइडेनले संयमित हुन सबैलाई आह्वान गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दाबी गरेपछि उहाँका समर्थक र विपक्षी दुवै पक्षले विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् । मतदान सकिएपछि पत्रकार सम्मेलनमार्फत् पहिलोपटक राष्ट्रपति ट्रम्पले धारणा सार्वजनिक गर्नेक्रममा हुलाकमार्फत् गरिएको मतदान एकतर्फी भएको दाबी गर्नुभएको थियो ।

उहाँले भन्नुभयो–‘यदि, तपाइँ वैध मतहरूमात्रै गणना गर्नुहुन्छ भने म सजिलै जित्छु । यहाँ धेरै अवैध मतदान भएको छ ।’ मतदानअघि सञ्चारमाध्यमहरूले गरेको जनमत सर्वेक्षणलाई राष्ट्रपति ट्रम्पले चुनावी हस्तक्षेपको संज्ञा दिनुभयो ।

यसअघि, ट्रम्पको चुनावी प्रचार अभियान समूहका एक अधिकारीले ‘सीबीएस’ टेलिभिजनसँग कुरा गर्दै विजयी भएको बाइडेनले घोषणा गर्दैमा राष्ट्रपति ट्रम्पले त्यसलाई नस्वीकार्ने बताउनुभएको थियो ।

अन्तिम नतिजा आउनै लाग्दा उहाँले दिएका अभिव्यक्तिका कारण धेरै अमेरिकीहरुले उहाँको आगामी कदमकोबारेमा आशंका र चिन्ता व्यक्त गरेका छन् ।

अर्का प्रतिस्पर्धी बाइडेनले भने विरोध प्रदर्शनमा उत्रिएका तथा त्रसित र उत्तेजित भएकाहरुलाई संयमता अपनाउन आह्वान गर्नुभएको छ । ‘लोकतन्त्रमा कहिले–काहीँ अस्तव्यस्तता देखिन्छ’–उहाँले भन्नुभयो–‘तर, प्रक्रियाले काम गरिरहेको छ ।’ प्रत्येक मतको गणना हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो–‘अमेरिकामा मतदान गर्ने काम पवित्र हुन्छ । त्यसलाई मानिसहरुले कसरी व्यक्त गरेका छन् भन्ने हेरौं ।’

मतगणना सकेपछि आफू र आफ्नो समूहकी उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिस विजयी हुने कुरामा ‘कुनै शंका नरहेको’ पनि बाइडेनले बताउनुभएको छ । त्यसबाहेक अमेरिकामा यसपालि झन्डै १० करोड मतदाताले हुलाकमार्फत् अग्रिम मतदान गरेका छन् । त्यसको गणनाका लागि समय लाग्ने भएकाले अन्तिम नतिजा आउन अझै केही दिन लाग्नसक्ने अनुमान गरिएको छ ।

हुलाकबाट आएको मतगणनापछिमात्रै अन्तिम नतिजा सार्वजनिक गरिनेछ । तर, हुलाकबाट आएको मतले भने नतिजालाई उल्ट्याउने सम्भावना कम हुने गरेको छ ।

नेपाली समयअनुसार मंगलबार राति अबेरसम्म भएको मतदान सकिएपछि बुधबार बिहानदेखि मतगणना सुरु भइ परिणाम सार्वजनिक हुन थालेको हो ।

अमेरिकी राष्ट्रपतिको काम–कारबाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्वका साथ हेर्ने गरिएको छ ।

अमेरिकामा हरेक चार/चार वर्षको नोभेम्बरमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिकरूपमा जनवरी २० मा शपथग्रहण गर्दै ह्वाइट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post