‘प्लाज्मा एप’ सञ्‍चालनमा, कोरोना संक्रमितको उपचारमा सहयोग पुर्‍याउने आशा !

 कोरखबर   २१ कार्तिक, २०७७



कार्तिक २१, काठमाडौं । विश्‍वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमितको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले ‘प्लाज्मा एप’ सञ्‍चालनमा ल्याएका छन् ।

कोरोना भाइरसबाट संक्रमितको उपचारमा सघाउ पुर्‍याउने उद्देश्यसाथ गत मंगलबार सार्वजनिक गरिएको ‘प्लाज्मा एप’ ले प्लाज्मा दिन चाहने र लिन चाहनेलाई जोड्ने काम गर्नेछ । प्लाज्मा चाहिएका व्यक्तिलाई सजिलोसँग आवश्यक रक्त समूहको प्लाज्मा उपलब्ध गराउन सकियोस् भन्‍ने उद्देश्यले ‘प्लाज्मा एप’ ल्याएको नेता पौडेलले बताए । ‘प्लाज्मा एप’ मा अहिलेसम्म २६ जनाले प्लाज्मा दान गर्न चाहेको र ११ जनाले लिन चाहेको उनले जानकारी दिए ।

अभियानमा जोडिन चाहनेले ‘प्लाज्मा एप’ डाउनलोड गरेर प्लाज्मा फिचरमा गइ डोनर (दाता) फाराम भर्ने र लिन चाहनेले लिने फाराम भरेर आफूलाई आवश्यक रक्त समूहको प्लाज्मा सहजै पाउने नेता पौडेलको भनाइ छ ।

यसैबीच कांग्रेसका अर्का युवा नेता गगन थापा र उनकी पत्नी डा. अञ्‍जना केसी थापाले ‘प्लाज्मा एप’ मार्फत प्लाज्मा दान गर्ने घोषणा गरेका छन् । केही दिनअघि मात्रै कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका नेता थापाले बिहीबार बेलुकी ट्‌विट गर्दै आफू र पत्नीले प्लाज्मा दान गर्ने घोषणा गरेका हुन् ।

उनले प्लाज्मा दानका लागि नेता पौडेलले कोरोना भाइरसबाट संक्रमितको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले ल्याएको एपमा नाम दर्ता गरेको जानकारी दिँदै अभियान सञ्चालन गरेकोप्रति पौडेललाई धन्यवाद पनि दिएका छन् ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post