कात्तिक १८, एजेन्सी । युरोपेली मुलुक अष्ट्रियाको राजधानी भियनाका ६ ठाउँमा मंगलबार आतंकवादी हमला भएको छ।
यहुदीहरू प्रार्थनास्थल बाहिरबाट सुरू भएको आक्रमण मध्य भियनाका ६ ठाउँमा गरिएको थियो। आक्रमणकारीको गोली लागेर अहिलेसम्म २ जनाको ज्यान गएको र कम्तिमा १४ जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ।
कोरोनाभारइरसका कारण भोलिदेखि सुरू हुने देशव्यापी कर्फ्यूको अघिल्लो साँझ जम्मा भएका मानिसहरूमा बन्दुकधारीले अन्धाधुन्द गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन्। प्रहरीको गोली लागेर एक जना आक्रमणको पनि मृत्यु भएको छ। आक्रमणलगत्तै प्रहरीले मध्य भियनाको उक्त क्षेत्रलाई सिल गरेको छ र सबैलाई यथास्थानमा बस्न भनेको छ।
अष्ट्रियाका चान्सलर सेबास्तियन क्रुजले आतंकवादी हमला भए पनि यसको उद्देश्य के थियो भन्ने खुलिनसकेको बताएका छन्। प्रायस् आतंकवादी हमला नहुने भियनामा यो आक्रमण कसले, किन गरेको हो भन्ने प्रष्ट भइसकेको छैन। यहुदी प्रार्थनास्थल नजिकै आक्रमण भएकाले यहुदीहरूलाई निशाना बनाएको हुने सक्ने अनुमान गरिएको छ।