पहिला पैसा अनि मात्रै शव : पैसा तिर्न नसक्दा ३ दिनसम्म संक्रमितको शव अस्पतालमै !

 कोरखबर   १७ कार्तिक, २०७७



कार्तिक १७,विराटनगर । विराट मेडिकल कलेजले कोरोना संक्रमणका कारण मृत्यु भएका एक पुरुषको शव तीन दिनसम्म आफन्तलाई दिएको छैन । शनिबार बिहान उपचारका क्रममा मृत्यु भएका विराटनगर–३ का ६५ वर्षीय तामाङ थरका पुरुषको शव अस्पतालले आफन्तलाई नदिएको हो ।

उपचारको क्रममा उठेको बिल अनुसारको रकम तिर्न नसक्दा अस्पतालले शव नदिएको आफन्तले बताएका छन् । एक बोर्डिङ स्कुलमा सवारी चालकको रुपमा कार्यरत ती पुरुषलाई ६ कात्तिकमा विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । शनिबार बिहान करिब ८ बजे उनको मृत्यु भएको थियो ।

‘भएको पैसा सबै सकियो, अब पैसा छैन,’ मृतककी छोरीले भनिन् ‘ऋण खोज्दा पाइएन, पैसा नतिरेसम्म अस्पतालले शव दिन्न भनेको छ ।’

उनका अनुसार अस्पताल भर्ना गर्दा अस्पतालमा एक लाख रुपैयाँ डिपोजिट गरिएको थियो । घरमा भएको पैसा औषधि खरिदमा सकिएको उनले बताइन् । ‘शनिबार विहान मृत्यु भएपनि आजसम्म शव ल्याउन पाइएको छैन,’ उनले भनिन्, ‘धेरै ठाउँ पहल गरियो तर शव निकाल्न सकिएन ।’

अस्पतालले उपचारमा लागेको खर्चमा केही छुट दिएको छ । अस्पतालले ३ लाख ८४ हजार ९३५ रुपैयाँ बाँकी रहेको र त्यो नबुझाएसम्म शव नदिने बताएको उनले गुनासो गरिन् ।

सरकारले कोरोना संक्रमितको उपचार गर्नबाट हात उठाएपछि तामाङ थरका पुरुषको मृत्यु भएको तीन दिनसम्म शव नउठेको हो । तामाङको अवस्था गम्भिर बनेपछि भेण्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालको प्रशासन प्रमुख सुधिरसिंह राठोरले जानकारी दिए ।

मृतकका आफन्तले उपचारमा उठेको बिल नतिरेका कारण शव अस्पतालमै रहेको उनले बताए । –फाईल फोटो



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post