देशभरि एकैपटक ६४९ अस्पताल शिलान्यास हुने !

    ४ कार्तिक, २०७७



कार्तिक ४,काठमाडौं । देशभरिका ६४९ स्थानीय तहमा यही मंसिर १५ गते एकैपटक अस्पतालको शिलान्यास गरिने भएको छ । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले सबै स्थानीय तहमा पाँच देखि १५ शय्याको अस्पताल निर्माण गर्ने नीति बमोजिम अस्पताल भवनको शिलान्यास गर्न लागिएको हो ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा दुबै मन्त्रालयका पदाधिकारीहरुबीच कात्तिक २ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले सोमबार एक विज्ञप्ति जारी गर्दै अस्पताल निर्माणका लागि ६४९ वटै स्थानीय तहमा बजेट उपलब्ध गराइसकिएको जानकारी दिए । बाँकीको स्थानीय तहमा यसअघि नै आधारभूत अस्पतालको संरचना कायम रहेको छ ।

अस्पताल भवन निर्माणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डिजाइन तयार गरी सबै स्थानीय तहमा उपलब्ध गराउनेछ । मन्त्रालयले गत् भदौ महिनामा सबै पालिकामा आधारभूत अस्पताल गर्न आवश्यक स्रोत साधन र बजेट परिचालनको तयारी गरिएको जनाएको थियो ।

एक साताभित्रै मौजूद संरचनामा अस्पताल सञ्चालनको तयारी गर्न सबै पालिकालाई निर्देशन दिएको थियो । तर उक्त निर्णय बमोजिम चिकित्सक र स्वास्थ्यकर्मीसहित स्वास्थ्य सामग्री उपलब्ध नहुँदा कार्यान्वयन हुन सकेको छैन् ।

दुबै मन्त्रालयका पदाधिकारीहरुबीचको बैठकले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने आईसीयू, भेन्टिलेटर लगायतका उपकरण तात्काल खरिद गर्ने गरी तयार भएको कार्ययोजना अगाडि बढाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post