भक्तपुर अस्पतालले सुरु ग¥यो दुरविनबाट शल्यक्रिया !

 कोरखबर   २९ असोज, २०७७



असोज २९, भक्तपुर । देशकै दोस्रो जेठो अस्पतालका रुपमा रहेको भक्तपुर अस्पतालमा बल्ल दुरविन अर्थात् ल्याप्रोस्कोपी प्रविधि भित्रिएपछि सहजरुपमा शल्यक्रिया सेवा सुरु भएको छ ।

वीर अस्पतालपछि स्थापना भएको यस अस्पतालमा पहिलोपटक बुधबार स्थानीय एक पुरुषको दुरविन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालका सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले जानकारी दिनुभयो । राणा प्रधानमन्त्री चन्द्रशम्शेरले विसं १९६१ असार १७ गते १५ शैय्याको ‘चन्द्रलोक डिस्पेन्सरी’ को नाममा स्थापना भएको यस अस्पतालले पहिलोपटक दुरविन प्रविधि भित्र्याएर शल्यक्रिया सुरु गरेको हो ।

डा.गौतमले भन्नुभयो, "वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सामाजिक विकास मन्त्रालयको अस्पताल गुणस्तर सुधार कार्यक्रमअन्तर्गत एक करोड ३५ लाख रुपैयाँको बजेट व्यवस्थापन गरिदिनुभयो, त्यसैले आवश्यक सामग्रीको व्यवस्थापन भएसँगै दुरविन प्रविधिबाट शल्यक्रिया सुरु गरेका छौँ, अब सहज र सुलभरुपमा शल्यक्रिया सेवा दिन सक्छौँ ।"

कोभिड-१९ को महामारीको बीचमा पनि नियमित सबै सेवा सञ्चालन गरिरहेको यस अस्पतालले आज सर्जन डा रञ्जिस पहाडीको नेतृत्वमा डा.मनिष मल्लिक, डा विनय चौधरी, एनेस्थेसियन डा निर्मल श्रेष्ठ, डा.दीपक भण्डारी, नर्सिङ टिमका सुमित्रा त्यात, हरि कोजू, मित्रमाया तामाङसहित टोलीले दुरविन प्रविधिबाट सफल शल्यक्रिया गर्नुभएको हो ।

निजी अस्पतालले ६० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म शुल्क लिँदै आएको पित्तथैलीको शल्यक्रिया भक्तपुर अस्पतालले भने २० हजार रुपैयाँमै गर्ने भएको छ । पहिलो शल्यक्रिया स्वास्थ्य बीमामा आबद्ध बिरामीको भएकाले  नौ हजार रुपैयाँ शुल्कमै शल्यक्रिया सम्पन्न भएको छ ।

वीर अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जमा लामो प्रतिक्षा ९क्यूमा० मा रहेका बिरामीलाई भक्तपुर अस्पतालमा पठाइदिए सहज र सुलभरुपमै शल्यक्रिया गर्न सकिने भक्तपुर अस्पतालको भनाइ छ । बिना चिरफार उच्च गुणस्तरको लेन्सका माध्यमबाट सानो प्वालको भरमा गरिने शल्यक्रिया अब भक्तपुर अस्पतालमा पित्तथैलीदेखि स्त्री तथा प्रसूति रोगसम्ममा प्रभावकारी ढङ्गले गरिने भएको छ ।

चिरेर शल्यक्रिया गरेको बिरामी हप्तौँसम्म अस्पतालमै बस्नुपर्ने बाध्यता हुन्छ तर दुरविन प्रविधिबाट गरिएको शल्यक्रियाको ४८ घण्टामै बिरामी घर जान सक्ने र काममा फर्किन मिल्ने, कम पीडा र तुलनात्मकरुपमा सङ्क्रमणको जोखिम कम हुने हुँदा स्त्रीरोगदेखि पत्थरीसम्मको शल्यक्रिया यही प्रविधिबाट बढी हुने गरेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post