असोज २८,काठमाण्डौ । युरोपका कैयौँ देशमा कोरोना सङ्क्रमण बढ्न थालेपछि फेरि एक पटक प्रतिबन्धको घोषणा गरिएको छ ।
बेलायतमा सङ्क्रमणको अवस्थालाई हेरेर मध्यम, उच्च र अति उच्च खतरायुक्त तीन हिस्सामा बाँडिएको छ र त्यही अनुसारको प्रतिबन्ध लगाइएको छ । बेलायत सरकारका वैज्ञानिक सल्लाहकारहरुले अहिले पनि सार्वजनिक ठाउँमा मानिसहरुले कडा रुपमा नियमको पालना नगरेको बताएका छन् ।
चेक गणतन्त्रमा तीन हप्ताको लागि आंशिक लकडाउन लगाइएको छ, जसका कारण विद्यालय, बार र क्लब बन्द राख्नुपर्ने छ ।
युरोपेली देशहरुमा प्रति एक लाख जनसङ्ख्याको हिसाबमा सबैभन्दा धेरै सङ्क्रमण चेक गणराज्यमा देखिइरहेको छ । त्यहाँका स्वास्थ्यमन्त्रीले लकडाउन खुकुलो भएसँगै मानिसहरु धेरै नै सामान्य हुन थालेको बताउनुभएको छ ।
चेक गणराज्यले गएको मार्च महिनामा निकै हतारमा र कडाइपूर्वक लकडाउन लगाएको थियो । तर गएको जुन महिनामा प्रतिबन्ध खुकुलो बनाइएपछि राजधानी प्रागको चार्ल्स ब्रिजमा सङ्कट समाप्त भएको खुसीयाली मनाइएको थियो ।
नेदरल्याण्डले पनि आउँदो चार हप्ताको लागि आंशिक लकडाउन लगाएको छ । त्यहाँ सार्वजनिक ठाउँमा मास्क लगाउनु अनिवार्य गरिएको छ ।
युरोपका कैयौँ देशका अस्पतालमा बिरामीहरुको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । फ्रान्सको राजधानी पेरिसमा सरकारी अस्पतालहरुको सङ्गठनले आउँदो हप्ताको अन्त्यसम्ममा पेरिसका अस्पतालहरुको ९० प्रतिशत शय्या भरिनेछ ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन बुधबार अझै कडा प्रतिबन्धको घोषणा गर्दै हुनुहुन्छ । पेरिसका केही ठाउँमा रातमा कर्फ्यु पनि लगाउन सकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । जर्मनीकी चान्सलर एन्जेला मर्केलले पनि स्थिति गम्भीर बनेको बताउनुभएको छ ।