असोज २५,काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या एक लाख ५० हजार नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म ब्राजिलमा कोरोनाको कारण एक लाख ५० हजार १९८ जनाको मृत्यु भएको छ ।
ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । अमेरिकामा अहिलेसम्म दुई लाख १२ हजारभन्दा धेरैको कोरोनाबाट मृत्यु भइसकेको छ ।
ब्राजिलमा गत साता मात्र कोरोना संक्रमितको संख्या ५० लाख नाघेको थियो । दक्षिण अमेरिकामा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको ब्राजिलमा अहिलेसम्म कोरोनाका ५० लाख ८२ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।
कोरोना नियन्त्रण गर्न नसकेको भन्दै अहिले ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोको आलोचना हुँदै आएका थिए । उनले कोरोनालाई एक सामान्य फ्लुको संज्ञा दिँदै अर्थतन्त्रलाई रोक्नु उचित नहुने बताउँदै आएका थिए । –बीबीसी