बाँकेमा १५ वर्षे किशोरसहित २ जना संक्रमितको मृत्यु !

 कोरखबर   २४ असोज, २०७७



असोज २४,नेपालगन्ज। कोरोना संक्रमणबाट बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको शुक्रबार राति मृत्यु भएको हो ।

दाङको घोराही उपमहानगरपालिका वडा नं ३ निवासी १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय किशोरको उपचारका क्रममा शुक्रबार राति करिब नौ बजे मृत्यु भएको थियो स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।

निमोनियाबाट ग्रसित किशोरको अवस्थाअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दा समेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।

यसैगरी कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारकै क्रममा शुक्रबार राति ११ बजे मृत्यु भएको छ ।

श्वास-प्रश्वासमा समस्या भएपछि गत असोज १३ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भई परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उपचाररत उनलाई स्वास्थ्यमा थप समस्या भएपछि शिक्षण अस्पतालले शुक्रबार राति करिब १० बजे भेरी अस्पतालमा रिफर गरी पठाएको थियो ।

अस्पताल पुगेको एक घण्टामै उनको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी गराउनुभयो । योसहित बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको संख्या १२ पुगेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post