अक्सिजन नपाएरै ज्यान गयो कोरोना संक्रमित युवाको !

 कोरखबर   २३ असोज, २०७७



असोज २३,विराटनगर – जिल्ला कारागार मोरंगमा विचारधीन मुद्दाको फैसला पर्खिरहेका एक कैदीबन्दी युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। कोशी अस्पताल आइसोलेसनका इन्चार्ज डा. लक्ष्मीनारायण यादवका अनुसार इटहरी उपमहानगरपालिकाका २० वर्षीय युवकको शुक्रबार बिहान उपचारकै क्रममा मृत्यु भएको हो।

डा.यादवका अनुसार बिरामीमा श्वासप्रश्वासको अधिक समस्या देखिएको थियो। बिरामीलाई अक्सिजन दिएर उपचार गर्नुपर्ने भए पनि त्यो उपलब्ध नभएको उनले बताए । अक्सिजनका लागि आइसोलेसनबाट कोभिड १९ उपचार केन्द्रमा बिरामीलाई थप उपचारका लागि पठाउने प्रयास गरिएको भएपनि त्यहाँ बेड खाली नहुदाँ समस्या भएको थियो ।

मोरंग कारागारका जेलर सुवास लामिछानेका अनुसार युवकको स्वास्थ्यमा समस्या देखिपछि बिहीबार विहान कोशी अस्पतालमा भर्ना गरिएको थियो। कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिपछि महरा थरका युवकको पिसिआर नमूना संकलन गरि अस्पतालकै ल्याबबाट राती पोजिटिभ रिपोर्ट आएको थियो। त्यसपछि, उनलाई कोशी अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको अवस्थामा मृत्यु भएको जेलर लामिछानेले जानकारी दिए।

युवक लागु औषध मुद्दामा मोरंग जिल्ला अदालतको आदेशबाट विगत ८ महिनादेखि कारागारमा बन्दी जीवन बिताइरहेका थिए।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post