काठमाडौं । सिरहाको मिर्चैया नगरपालिकाभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि अवरुद्ध पठनपाठन नगरपालिकाको निर्णयअनुसार असोज ११ गतेदेखि नगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालय सञ्चालन हुने भएको हो ।
शिक्षा शाखाले सूचना जारी गरी सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न लागिएको जानकारी दिएको छ । कक्षा सञ्चालन गर्दा सामाजिक दूरी कायम हुने गरी सिफ्टमा सञ्चालन गरिनुपर्ने, बन्दाबन्दी अवधिको कुनै पनि शुल्क विद्यालयले अभिभावकसँग लिन नपाउने निर्णय गरेको सूचनामा उल्लेख छ ।
विद्यालयमा एउटा डेस्कमा बढीमा दुई जना मात्र बस्न पाउने तथा विद्यालयमा भौतिक दूरी कडाइका साथ पालना गराउने सूचनामा उल्लेख छ ।