३० भदौ, हेटौँडा। मकवानपुरमा एक महिने शिशुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
हेटौडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालाबाट मंगलबार बिहान प्राप्त पीसीआर नतिजा अनुसार हेटौंडा–४, का एक महिने शिशु (बालक) मा कोरोना पुष्टि भएको हो ।
हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंका अनुसार शिशुकी ३६ वर्षीय आमालाई कोरोना पोजिटिभ देखिएपछि परिवारको समेत स्वाब संकलन गरी पीसीआर गरिएको थियो । परिवारको अन्य सदस्यलाई भने कोरोना नदेखिएको इञ्चार्ज चौलागाईंले बताए ।
सुत्केरीको समयमा अस्पतालमा बस्दा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरेको उनले बताए । उनी हेटौंडा अस्पतालमा सुत्केरी भएको र केही समय अस्पतालमै बिताएकी थिइन् ।
शिशु र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु घरमै आइसोलेटेड भएर बसेका छन् । स्वास्थ्यकर्मीको टोलीले उनीहरुको निगरानी गरिरहेको छ । –रासस