३० भदौ, चितवन :– चितवन जिल्लामा कोरोना संक्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा संक्रमितमध्ये ५० प्रतिशतको संक्रमणको माध्यम अस्पताल बनेको पाइएको हो ।
केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार कुल संक्रमितमध्ये २५४ चिकित्सक तथा स्वास्थ्यकर्मी रहेका छन । यो सङ्ख्या आजसम्म संक्रमित सङ्ख्याको २० प्रतिशत हुन आउँछ ।
संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीको परिवारमा कम्तीमा थप एक व्यक्ति संक्रमित भएको पाइएको उहाँले बताउनुभयो । यसलाई हेर्दा संक्रमित व्यक्तिको ४० प्रतिशत हुन आउँछ ।
त्यसबाहेक संक्रमित अन्य १०१ ले समेत आफूलाई अस्पतालमा उपचारका लागि जाँदा वा बिरामीको कुरुवा भएर बस्दा संक्रमण भएको बताएको उनले जानकारी दिनुभयो । तिवारीले भने, “जिल्लामा जम्मा संक्रमणको ५० प्रतिशत हिस्सा अस्पतालहरुको रहेको पाइयो ।”
अध्ययनका क्रममा उद्योग, व्यापार, होटल, फलफूल, तरकारी पसल वा अन्य व्यवसाय गर्ने १११ मा संक्रमण देखिएको छ । कलकारखाना, होटल, इन्टरप्राइजेज वा व्यवसायमा देखिएको संक्रमण बढ्दो क्रममा रहेको छ । घर भाडामा एकै घरमा धेरै व्यक्ति बस्ने, एउटै शौचालय प्रयोग गर्नेहरुमा संक्रमण फैलिएको पाइएको छ ।
अध्ययनपछि तयार गरिएको प्रतिवेदनमा भनिएको छ, “पसलको सामान ढुवानी गर्ने, सामान बेच्ने, तरकारी बजार जाने, सवारी चालक, कोभिड परीक्षण नगरी बाहिरबाट आएका कामदार, जिल्ला बाहिर गएर आएका र अग्रभागमा रहेको प्रत्यक्ष सेवा दिने बैंक, वित्तीय संस्था, विद्युत् प्राधिकरणका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।”
अध्ययनले अस्पताल उच्च जोखिममा देखिएपछि कोभिड संक्रमण फैलन नदिनका लागि आन्तरिक कार्ययोजना बनाएर काम गर्ने विषयमा जिल्लामा रहेका अस्पतालसँग छलफल भइसकेको तिवारीले जानकारी दिए ।
चितवन जिल्लामा हालसम्म संक्रमितको सङ्ख्या एक हजार ३०७ पुगेको छ भने १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । बाहिरी जिल्लाको सहित यो सङ्ख्या २९ पुगेको छ । रासस