काठमाडौं । बर्दियाको बाँसगढीमा संचालनमा रहेको सीजी फुड्समा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि कम्पनीले सुविधायुक्त आइसोलेसनको व्यवस्था गरेको छ।
कम्पनीले खर्च गरेर पीसीआर परीक्षण गरिएका उनीहरुको स्वास्थ्य जाँचसहित स्थानीय होटलको सुविधायुक्त आइसोलेसनमा राखिएको छ।
कम्पनीमा कार्यरत ५६ जना कामदारमा कोरोना संक्रमण देखिएको थियो । हाल होटलको आइसोलेसनमा कामदारहरुलाई राखिएको सीजी फुड्स बर्दियाका वरिष्ठ प्रवन्धक दिनेश भण्डारीले बताए । उनीहरुलाई खान, बस्नलगायतका सुविधाहरु होटलमै उपलब्ध गराइएको छ।
कर्मचारी संक्रमित भएदेखि नै कम्पनीको उत्पादन बन्द गरिएको छ। महामारीको संक्रामक अवस्था हेरेर स्थानीय पालिका र प्रशासनसँग समन्वयपछि कम्पनी संचालनमा ल्याइने तयारी रहेको भण्डारीले बताए ।
बर्दियास्थित सीजी कम्पनीमा ३ सय २७ जना कामदार कार्यरत छन् । केही कर्मचारीमा संक्रमण देखिएपछि बाँकी कर्मचारी होम क्वारेन्टाइनमा छन् ।कम्पनीमार्फत दैनिक १४ हजार कार्टुन चाउचाउ उत्पादन हुन्छ । स्वास्थ्य महामारी फैलिएपछि कम्पनी बन्द छ ।