२९ भदौ, एजेन्सी । मलेसियाले ५० हजारभन्दा धेरै कोरोना संक्रमित भएका देशहरूलाई प्रवेशमा रोक लगाएको छ । मलेसियाले जारी गरेको सूचनामा २३ देशका नागरिकहरुलाई आफ्नो देशमा यात्रा गर्न रोक लगाएको हो । ती २३ देशमध्ये पाँचवटा भने मलेसियाले कामदार लिने देशहरु हुन् ।
इन्डोनेसिया, फिलिपिन्स, भारत, पाकिस्तान र बंगलादेशबाट मलेसिया कामदारको रुपमा मानिसहरु जाने गरेका छन् । मलेसियाले जारी गरेको सूचनामा नेपालको नाम भने उल्लेख गरिएको छैन । प्रवेशमा प्रतिबन्ध लगाइएका मुलुकबाट कामदारसहित कोही पनि मानिस मलेसिया प्रवेश गर्न पाउने छैनन् ।
मलेसियामा सोमबारसम्म ९ हजार ८६८ जनामा कोरोना संक्रमण देखिएको छ भने १२८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । मलेसियामा पछिल्लो चौबीस घण्टामा ५८ जनामा कोरोना संक्रमण देखिएको छ ।