डोटी । डोटीमा भदौ १४ गते राति १२ बजेदेखि जारी गरेको निषेधाज्ञा गएराति १२ बजेदेखि खुकुलो पारेको छ ।
जिल्ला संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको हो ।
जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि समुदायमा कोरोना फैलिने डर बढेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । जिल्ला प्रशासन कार्यालय डोटीले आइतबार एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा पारेको जानकारी दिएको छ ।
आजदेखी जिल्लामा हुने व्यापार व्यवसाय स्वास्थ्य साबधानी अपनाएर बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म गर्ने, सिट क्षमता भन्दा ५० प्रतिशत कम यात्रु राखेर र चालक सहचालकले मास्क प्रयोग गरेर मात्र जिल्लाभित्र सवारी साधन चलाउन पाइने विज्ञप्तिमा उल्लेख छ ।
सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालयहरु, निजी तथा गैरसरकारी संस्थाका कार्यालयहरु, बैंक र वित्तीय संस्थाहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालन गर्न पाउने बताइएको छ । होटेल, रेष्टुरेन्ट तथा खाजा घर भिडभाड नहुने गरी चलाउनु पर्ने व्यवस्था समेत गरेको छ ।