काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ९५ हजार ७ सय ३५ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा यति धेरै नयाँ संक्रमित भेटिएका हुन् ।
बुधबार मात्रै भारतमा ११ लाख २९ हजार ७ सय ५६ जनाको नमुना संकलन गरी परीक्षण गरिएको थियो । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ४४ लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४ लाख ६५ हजार ८६४ पुगेको छ ।
त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ७५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार १ सय ७२ जनाको मृत्यु भएको हो ।
सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म नौ लाख ६७ हजारभन्दा संक्रमित भेटिएका छन् भने २७ हजार ७ सय ८७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै आन्ध्र प्रदेशमा पाँच लाख २७ हजार कोरोना संक्रमित फेला परिसकेका छन् भने चार हजार ६ सय ३४ जनाको मृत्यु भइसकेको छ ।
भारतमा अहिलेसम्म ३४ लाख ७१ हजार ७ सय ८४ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । अहिलेसम्म नौ लाख १९ हजार १८ संक्रमित निको हुन बाँकी रहेको श्रोताले जनाएको छ ।