२२ भदौ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका–३० लालपर्साका ५४ वर्षीय पुरुषको वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालको आईसीयूमा उपचारको क्रममा सोमबार दिउँसो १ बजे मृत्यु भएको हो ।
अस्पतालका चिकित्सक डा. नौसाद अलीका अनुसार मधुमेह, उच्च रक्तचाप, दम र मृगौला रोगबाट ग्रसित उनलाई कोरोना संक्रमण पुष्टि भएपछि भदौ १५ गते नारायणी अस्पतालले कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा पठाएको थियो ।
वीरगञ्ज हेल्थ केयरमा ३ पटक मृगौलाको डायलायसिस पनि गरिएको थियो । तर विभिन्न दीर्घ रोगबाट ग्रसित उनमा कोभिड निमोनिया देखिएको थियो । उपचारपछि पनि स्वास्थ्यमा सुधार आउन नसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
‘फुल अक्सिजन दिएर आईसीयूमा राखेका थियौं, १२ बजेतिर बढी गाह्रो हुन थाल्यो’ डा। अलीले भने ‘सीपीआर गर्नेदेखि लिएर गम्भीर अवस्थाबाट बाहिर ल्याउन एक घण्टासम्म कोशिस गर्यौं । तर बचाउन सकिएन ।’
योसँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५९ पुगेको छ । साउन यतामा मात्रै ५३ जनाको मृत्यु भएको छ ।