थप ५ जना कोरोना संक्रमितको मृत्यु , मृतकको संख्या २७६ पुग्यो !

 कोरखबर   २० भदौ, २०७७



२० भाद्र, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी, पर्सा, मोरङ, बुटवल र नवलपरासीका रहेको जनाईएको छ । 

कोरोना संक्रमण पुष्टि भएका बर्दिबासका ७६ वर्षीय पुरुषको काभ्रेस्थित धुलिखेल अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि १५ दिनअघि अस्पताल भर्ना गरिएका उनको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिएका । अस्पताल भर्ना भएपछि कोरोना संक्रमणको आशंकामा स्वाब संकलन गरिएका उनको नतिजा पोजिटिभ आएको थियो । 

त्यस्तै, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत विराटनगरकी एक कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार विराटनगर ११ की ४३ वर्षीया महिलाको उपचारको क्रममा शुक्रबार बेलुका मृत्यु भएको हो । विराटनगरको न्यूरो अस्पतालबाट श्वासप्रश्वासमा समस्या, पेट र छातीको दुखाईपछि रेफर भएकाले प्रतिष्ठानको कोभिड अस्पतालमा बिहीबार भर्ना गरिएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

उता, बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस संक्रमितले ज्यान गुमाएका छन् । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको शनिबार बिहान र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए । ज्वरो र स्वासप्रस्वासको समस्या रहेका दुबैको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो ।

यता, पर्सामा पनि थप एक जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। जिल्लाको पकहा मैनपुर गाउँपालिका २ निवासी ७५ वर्षका बैजनाथ महतोको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए। संक्रमित वृद्धको उपचारको क्रममा शुक्रबार राति साढे ११ बजे अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा मृत्यु भएको हो । निमोनियाले ग्रसित ति व्यक्तीमा भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएपछि कोरोना अस्पताल गण्डकमा उपचारको लागि भर्ना भएका थिए । 

यो सँगै नेपालमा कोरोना संक्रमित मृत्यु हुनेको संख्या २७६ जना पुगेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post