नेपालमा कोराना भाईरसको खोपको परिक्षण तत्काल नहुने !

    १६ भदौ, २०७७



विविसी- कोरोनाभाइरससम्बन्धी खोपको नेपालमा गर्ने भनिएको तेश्रो चरणको परीक्षण तत्कालै नहुने अधिकारीहरूले बताएका छन्। परीक्षणका लागि इच्छुक कम्पनीलाई प्रस्ताव पठाइने र नेपाललाई हुने फाइदाबारे छलफल गरेर मात्रै निर्णय लिइने राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाले बताएका छन्।

चीनमा विकास भइरहेको एउटा खोप, ब्रिटेनको अर्क्सफोर्ड विश्वविद्यालयले बनाएको खोप र रुसी खोपको पनि तेश्रो चरणको परीक्षण नेपालमा पनि गर्न कुराकानी भइरहेको अधिकारीले जनाएका थिए।

एक सङ्क्रामक रोग विज्ञले नेपालले लाभ पाउने सर्तमा मात्रै खोपको परीक्षणमा सहभागी हुनुपर्ने भन्दै परीक्षणमा जोडिनेभन्दा पनि खोप उत्पादनमा लागेका कम्पनीसँग वार्ता गर्न सुझाव दिएका छन्।

खोप परीक्षणबारे के निर्णय भयो?

परिषद्का अध्यक्ष डा. झाका अनुसार झन्डै ८० जना विज्ञसँगको बैठकपछि विस्तृत छलफल र अध्ययनपछि मात्रै खोपको परीक्षणमा सहभागिताबारे टुङ्गोमा पुग्ने निष्कर्ष निकालिएको छ।

डा. झाले भने, “अहिले हामीले खोप विकास गरिरहेका संस्थासँग पत्राचार गरेर परीक्षणमा सहभागी हुन इच्छुक छौँ भनेर सोध्ने कुरा भएको छ।” हाल तेश्रो चरणको परीक्षणमा रहेका खोप विकास गर्ने संस्था तयार भएमात्रै थप प्रक्रिया अघि बढ्ने उनले बताए।

सर्त र सुविधासम्बन्धी छलफल

परीक्षणमा जानुअघि त्यसका विभिन्न सर्तहरूबारे पनि गहन छलफल गर्नुपर्ने अवस्था रहेकाले टुङ्गोमा पुग्न समय लाग्नसक्ने बताइएको छ। परिषद्का अध्यक्ष डा. झाले प्रस्ताव आइसकेपछि पनि प्राविधिक विषयहरू निरूपण हुनुपर्ने जनाए।\

उनले भने, “परीक्षण सफल भयो भने नेपालीले खोप किन्न पाउने या नपाउनेपनि टुङ्गो लाग्नुपर्यो। मानिसहरूमा नकारात्मक असर देखियो भने के गर्ने टुङ्गो लाग्नुपर्छ।”



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post