चितवन । कोरोना भाइरसबाट चितवनमा सोमबार थप ३ जनाको मृत्यु भएको छ ।
सोमबार दिउँसो मृत्यु भएका तीन जना कोरोना भाइरसका कारण मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । उनीहरूको अस्पतालमा केही घण्टाको फरकमा मृत्यु भएको थियो ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष, भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती र पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको मृत्यु छन् ।
ज्वरो र श्वासप्रश्वासमा समस्या देखिए पछी अस्पतालमा लगिएको परिवारले जनाएको छ । उनीहरूका आफन्तले अस्पतालमा दिएको जानकारी अनुसार दुई दिन अघिसम्म उनीहरूमा स्वास्थ्य सम्बन्धी खासै समस्या थिएन ।
एक पछी अर्को गर्दै दुई जनाको मृत्यु भइसकेपछि नमूना संकलन गरिएको थियो ।अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले एक्कासी लक्षण देखिएर राम्रोसँग उपचार गर्न पनि नपाउँदै बिरामीको मृत्युु भएको बताए ।
अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा राति गरिएको परीक्षणमा उनीहरुको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । यसअघि, सोमबार बिहानै भरतपुर अस्पतालमा एक जना ७८ वर्षका कोरोना संक्रमित वृद्धको मृत्यु भएको थियो ।
हालसम्म चितवनमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । जसमध्ये चितवनका मात्रै ९ जना रहेका छन् । बाँकी मकवानपुरका तीन, बारा, गोरखा, नवलपरासीका १–१ जना छन् ।