लमजुङमा हालसम्म कोरोना संक्रमितको संख्या १ सय ६९ पुगेको छ । लमजुङको सदरमुकाम बेसीसहरमा कार्यक्षेत्र बनाएका सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, व्यवसायी, कर्मचारी लगायतमा कोरोना संक्रमण देखिएपछि समुदायस्तरमै कोरोना संक्रमण फैलिएको अनुमान गरिएको छ ।
गण्डकी प्रदेश प्रयोगशाला र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा प्रहरी, सञ्चारकर्मीसहित शुक्रबार मात्र थप २६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । शुक्रबार विहानमात्रै एक सञ्चारकर्मी सहित मध्यनेपालको क्वारेन्टाइनमा बसेकी एक महिलामा कोरोना संक्रमण पुष्टी भएको थियो ।
शुक्रबार साँझ २३ जना प्रहरी, एक थुनुवा सहित थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासान कार्यालय लमजुङले जनाएको छ ।
यस्तै लमजुङ जिल्ला सामुदायिक अस्पतालमा कार्यरत ४७ वर्षीया एक महिला कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमितहरुलाई आइसोलेसनमा राखिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । लमजुङमा शुक्रबारसम्म संक्रमितको संख्या १ सय ६९ पुगेको छ । कुल संक्रमितमध्ये एकसय १३ जना निको भई घर फर्किएका छन् ।